काठमाडौं । नागरिक एपमा सिंहदरबार प्रवेशका लागि आवश्यक पर्ने गेटपासको सुविधा थपिएको छ । एपको पछिल्लो अपडेटमा सिंहदरबारको गेटपास लिन सकिने सुविधा थपिएको हो ।
यो अपडेट आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ । यससँगै सिंहदरबारको गेटपासका लागि सिंहदरबारपास डट जीओभी डट एनपीमा गइरहनु पर्ने तथा सम्बन्धित निकायमा कल गरिरहनु पर्ने बाध्यता हटेको छ ।
नागरिक एपबाट सिंहदरबार गेटपास लिने विकल्प अहिले 'अल सर्भिसेस'को ठीक तल नै देखिन्छ । त्यसमा क्लिक गरेर 'रिक्वेस्ट पास'मा मा क्लिक गरेर कार्यालय, भेट्न चाहेको मान्छे र भेटको कारण राखेपछि क्यूआरकोड सहितको गेटपास तयार हुन्छ । गेटपासको अवस्था भने एपको सबैभन्दा माथिल्लो भागमा देखिन्छ । तर यसका लागि केही समय भने लाग्ने छ ।
त्यस्तै अफलाइन मोड, युजर इन्टरफेस (यूआई)मा सुधार, क्यूआर कोड सहितको ड्राइभिङ लाइसेन्स भेरिफिकेसन, ट्राफिक नियम उलङ्घन हेर्न सकिने फिचर पनि नयाँ अपडेटमा रहेका छन् । हाल यी अपडेट आईओएसमा आइसकेको छ भने एन्ड्रोइडमा चाँडै आउने बताइएको छ ।