close

दशैं ह्याङओभर: सामाजिक सञ्जालमा पोस्ट नगरिएको पाटो

दीपक पौडेल दीपक पौडेल

कात्तिक २, २०८१ १३:२९

दशैं ह्याङओभर: सामाजिक सञ्जालमा पोस्ट नगरिएको पाटो

“गाउँ यसै खाली छ, त्यसमाथि भएको एउटा छोरो पनि सप्‍तमी- अष्‍टमीमा मात्र घर आउँछु भन्दा त खल्लो हुँदो रछ” मेसेन्जरको भिडिओ कलमा आमाले यसो भनिरहँदा आमाको घाँटीनेर परेको गाँठो मैले प्रष्ट देखेको थिएँ । म किन त्यति ढिलो घर जान खोज्दै छु भन्ने प्रश्नको उत्तर मसँग थिएन । आमालाई भने अफिसमा काम छ भनेर भनेको थिएँ ।

आमाको त्यो बोली सुनेपछि आफैंलाई प्रश्न गरेँ- “ए साँच्ची दशैंमा घर जाने रौनक किन घटेको होला ?” आफैंले उत्तर दिएँ, “पहिला जस्तो वातावरण नै छैन ।”

उत्तरले चित्त बुझेन, फोन निकालेँ, ई-सेवामा काठमाडौं-पोखराको फ्लाइटको टिकट हेरेँ । सबै एयरलाइन्सको भाडादर ६ हजार रुपैयाँ माथि उकालो लागेको देखेँ । जिब्रो टोकेँ र बसको भाडादर हेर्न थालेँ । झल्यास्स सम्झेँ- असोज १२ र १३ गते परेको पानीले निम्त्याएको बाढी पहिरोले अनलाइन बुकिङका धेरै टिकट फिर्ता भएको समाचार हामीले नै लेखेका थियौं केही दिन अगाडि । हुन त विस्तारै अवस्था सुधार हुँदै थियो, अनलाइन टिकटिङ सुचारु भइसकेको पनि थियो । तैपनि झ्याप्प टिकट किनिहाल्न मन लागेन । 

अफिसमा पनि जानकारी गराएको थिइनँ । दशैं ब्याकअप स्टोरी त केही लेखेकै थिइनँ । भैगो ! अलिक पछाडि नै जान्छु । फोन साइड लगाएँ । बत्ती निभाएँ । फ्यान बेगलाई १ नम्बरमा घटाए । गर्मी अलिक घटेछ, तर फ्यानलाई कोठाको कुनामै थन्क्याउने बेला अझै भइसकेको थिएन । दशैंपछि रुम फर्किँदा भने फ्यान र मेरो अस्थायी सम्बन्धविच्छेद हुन्छ होला सायद ।

निदाउनै लागेको थिएँ । अचानक फोनको घण्टी बझ्यो । घडीमा हेरेँ, घर नजिकै एउटा भाइले फोन गरेको रहेछ । फोन उठाउँन नपाउँदै उसले प्रश्न गर्‍यो, “मेसेन्जरमा त ३० मिनट्स अगो अनलाइन देखाको छ त , वाई-फाई बन्द गरेर दशैं मनाउँदै हो क्या हो ?” अर्धनिद्रामै जवाफ फर्काएँ- ‘होइन ! म त सुतेको ।’ उसले आश्चर्य मान्दै सोध्यो- ‘ल ! यति छिट्टै ? इन्स्टामा रिल्स पनि पठाउन छोड्यौ, १० बजे नै सुतेँ भन्छौँ के हो कुरो ? बिरामी पर्यौँ क्या हो ?”

अचम्म लाग्यो ! सोसल मिडियाको ‘प्रेजेन्स’ म ठीक छु है भन्ने ‘भ्यालिडेसन’ कहिले देखि बन्यो ? खैर ! जवाफ फर्काएँ- “हैन 'माइक्रो कन्टेन्ट कन्ज्युम गर्न छोडेको केही समयलाई, रिल हेर्दाहेर्दै १- २ घण्टा बितेको थाहा नै हुन्न ।”  

मेरो उत्तरमा थप प्रतिक्रिया नदिई उसले नयाँ प्रश्न गर्‍यो, “घर कहिले जाने ?”

मैले भनें- टिकाको अघिल्लो दिन हुन्छ होला । 

उसले थप प्रश्न गर्‍यो, “किन त्यति ढिला ? मसँग एउटा 'एक्स्ट्रा' टिकट छ पर्सी जाम मिल्छ भने । ओहो ! दशैंको बेला कसैले फोन गरेर टिकट अफर गर्दा नाई कसरी भन्नु ? मैले ‘हुन्छ’ भनिदिएँ ।

योजना भन्दा तीन दिन अगाडि नै घर जाने पक्का भयो । भोलिपल्ट अफिसमा जानकारी गराएर अन्ततः २३ गते हामी घर हानियौँ । बाढी पहिरोले भत्काएको बाटो र घर जानेको चापले बढेको जामले गर्दा बेलुका ९ बजे मात्र घर पुगियो । ९ बजे नै आधा गाउँ सुतेको जस्तै थियो । सम्झेँ- हामी सानो छँदा लगभग ९ बजे त हामी घर तलको चौरमा हालिएको पिङमा हुन्थ्यौँ । आँगनको डिलमा आएर आमाले आधी गाउँले सुन्ने गरी नझपारेसम्म घर जाने कुरा हुँदैनथ्यो ।  

थाकेको शरीर भोलिपल्ट उठ्दा घडीले ८ बजाई सकेको थियो । गाउँको दशैंभन्दा साथ बिहानको पारिलो घाम, घामका किरणले ओसिलो पहेँलो धानलाई स्पर्श गर्दा हिरा जस्तै टलक्क टल्किने सितका थोपाहरू, एकाबिहानै पिङ खेल्ने केटाकेटीको तँछाडमछाड, घर नजिकैको धारामा होहल्ला गर्दै नुहाउन आउने गाउँका युवाहरूको जमातको अमिट चित्र छापिएको छ मेरो मनमा । 

यही सुन्दर माहोलको दृष्यपान गर्ने आशा लिएर आँगनको डिलमा निस्किँदा मन कतिसम्म अमिलियो भन्ने अनुभूति शब्दमा वर्णन गर्ने सामर्थ्य मसँग छैन । आँगनको डिलबाट गाउँतिर चिहाएर हेर्दा धानका बाला लहराउने खेतमा दुई हात लामो झाडी उम्रिएको देखेँ ।

सधैँ विमानस्थलको धावनमार्ग जस्तो चिल्लो देखिने मेरो आगँन दुबोले भरिएको पहिलो पटक अनुभव गरेँ । जुन खेतमा उम्रेको धान, मकै, गहुँ खाएर म हुर्केँ, जुन खेतमा उम्रिएको साग, सब्जीले मेरा किताब कापी किनिए , जुन कटेरोका मुनि रहेको गाई भैँसीको दुध बेचेर मेरो बालापनका सबै इच्छा चाहना किनिए, ती सबै आज बन्जर भएका छन् ।

कहीँ कतै खेतका बीचमा पक्की घर बनेका छन् । महसुस गरेँ- ती ठूला घरको आँगनमा खेल्ने साना बाबुनानीहरू गाउँमा छैनन्, भएकाहरू घरभित्रै बसेर फ्रि-फायर र पब्जीमा व्यस्त छन् । धानका बाला ब्याकग्राउन्डमा आउने गरी टिकटक बनाउने आशामा गाउँ आएका किशोर किशोरीहरू धान खेत खोज्दै टाढासम्म धाउन परेको छ ।ओहो ! कस्तो रसहिन दशैं । 

गाउँ तल एक जना दिदीले वर्षौँदेखि चिया पसल गर्दै आएकी छिन् । त्यो चिया पसल गाउँका हरेक उमेर समूहका मान्छेहरूलाई भेट्ने सम्पर्क कार्यलय जस्तै थियो, सोचेँ- त्यहाँ कोही न कोही भेटिन्छन् । काठमाडौंबाट सँगै आएको साथीलाई फोन गरेँ । “हिँड लक्ष्मी दिदीको तिर जाम, चिया पिएर आउँला ।” उसले जवाफ फर्कायो “ल जाम ! घरमा दुहुनो छैन । उता गए दुध हालेको चिया त पाइन्छ ।” 

बिहानीपख दिदीको हात खाली रहेको प्राय भेट्न गार्हो पर्थ्यो । त्यो दिन भने दिदी फुर्सदिली रहिछन् । हामी पुग्दा अमेरिकामा रहेको आफ्नो कान्छो छोरोसँग गफिँदै रहिछन् । गुनासो उस्तै थियो दशैं आएजस्तै छैन गाउँमा ।

लगभग आधा घण्टा बिताइसकेपछि हामी जस्तै दशैं मनाउन गाउँ आएका केही ठिटाहरू चिया पसलमा झुल्किए । सबै मिलेर दशैंको माहोल पहिलाको जस्तै नभएको गुनासो भयो । गुनासोसँगै सुनिए भिसा रिजेक्ट भएका कथाहरू , प्रोसेसिङका लम्बेतान बहसहरू,  आइएल्ट्सका अनुभवहरू र देखिए प्राय: युवाको निधारमा निराशाका धर्साहरू ।  

कुरा निरसिला भएको देखेपछि मैले प्रश्न तेर्स्याएँ- “ पिङ हाल्ने होइन ?” पिङ हाल्नु पर्छ भन्ने सहमति जुट्यो । बाँसका लिङ्गाहरू काटिए , झारले भरिएको चौरमा झार फडानी भयो । समस्या पिङको लठ्ठो ( डोरी) को भयो । लठ्ठोको मूल्य अनुमान गर्न दराजमा ‘स्विङ रोप फर दशैं’ , ‘ह्युज रोप’ ‘लङ रोप’ लगायतका किबोर्ड टाइप भए । तर चित्त बुझ्दो रिजल्ट देखिएन ।

अन्तत: बजारमै गएर बुझ्ने निधो भयो । पिङका लिङ्गा ठडाउने डोब खन्ने काम सुरु भयो । चार ओटै डोब खनिसके पछि थाहा भयो डोब बाङ्गा भएछन् । तर खै किन हो ? न डोब सिधा भए, न लठ्ठो किनियो, न पिङ बन्यो ।

घर पुगेर सादा खाना खाएपछि लाग्यो ल ! दशैंमा त च्याङ्‍ग्राको मासु पो हुन्थ्यो त पहिला । बिहानै कति भाग मासु राख्दिम् भन्नेहरू आँगनमा आइपुग्थे ।  सादा खानाले स्वादे जिब्रो सन्तुष्ट भएन । आमालाई प्रश्न गरेँ- अनि गाउँतिर कतै च्याङ्ग्रा काटेका छैनन् ?”

आमाले भन्नुभयो- “खोइ थाहा पाएकी छैन । चोकको हिमालले काट्छ रे फेसबुकमा लेख्याथ्यो । मेसेन्जरमा अर्डर दियो भने घरमै ल्याइदिन्छ । मासु खान मन भए हिमाललाई अर्डर दे । " 

काठमाडौंको दैनिकी जति नै व्यस्त भए पनि मासु भने अफलाइन नै किनेर खाइन्थ्यो । गाउँमा पहिलो पटक मासु अनलाइन अर्डर गरेर दशैं मनाइयो यो पटक । 

तास भने पहिला पनि प्राथमिकतामा थिएन मेरो, तर दशैंको बेला टिम मिलाएर १०-१५-२०  कलब्रेक जम्थ्यो । तासमा जित्नेले ३ बजेको सिनेमा हेराउथ्यो । हिसाब गर्दा हार्नेलाई भन्दा जित्नेलाई घाटा । तर यो पटक कलब्रेकको लागि चार जनाको टिम नै पुगेन, तीन जनाले पाँच रुपैयाँ बोट ‘शो फलास’ खेलियो । मान्छेहरूको कमीले बजारको सिनेमा हल बन्द भएको रहेछ, दशैंमा सिनेमा हल पुग्ने चलन सम्भवतः सदाको लागि अन्त्य भयो । यो दशैंको सिनेमा कोटा भने युट्युबमा आएको ‘जारी’ले पूरा गरेको मान्नुपर्छ । 

टिकाको दिन घरको ढोका, पूजा कोठा, तुलसीको मोठ, कटेरो आदिमा टिका टाँसेर साहित छोप्ने गरिन्छ । यी ठाउँमा टिका टास्न गाईको गोबर चाहिन्छ । हाम्रो टोलमा कसैको घरमा पनि गाई थिएनन् । फगत गोबर खोज्न २० मिनेट भौतारिएँ म ! सम्झेँ- पोहोरको दशैंमा म काठमाडौं थिएँ, डेरा अगाडिको पसलबाट गाईको गोबर किनेको थिएँ । सहरमा मात्र होइन गाउँमै पनि गोबरको यस्तो हाहाकार मेरो कल्पना बाहिरको कुरा थियो ।

धन्न गाउँमा गएर पनि गोबर भने किन्न परेन । तर गोबर खोज्नको लागि गरिएको संघर्ष सम्झिँदा लाग्यो- अर्को पटक फेसबुकमा गोबरको पनि विज्ञापन राखेर घरमै डेलिभरीको सुविधा दिइयो भने कम्तीमा काठमाडौं फर्कने गाडी भाडा मज्जाले कमाइँदो रहेछ । 

टिकाको साहित बिहान ११.३६ को थियो । ११.४० हुन पाउँदा नपाउँदै सामाजिक सञ्जालमा मानिसहरूका टिका र जमरा सहितका तस्बिरहरू पोस्ट हुन थाले । मङ्गल धुनको ब्याकग्राउन्ड सहित स्टोरीहरू आउन थाले ।

मानौँ टिकाको साहितसँगै टिका लगाएको तस्बिर अपलोड गर्ने पनि साहित छोप्नु थियो मानिसहरूलाई । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरहरू देख्दा लाग्थ्यो- आहा ! कति हँसिला अनुहारहरू ! कति रमाइलो दशैं।  स्क्रिनका चार कुना बाहिरबाट हेर्नेहरूले मैले पोस्ट गरेको दशैंको तस्बिर हेरेर पनि त्यही त सोचे होलान् । 

नेपालमा मोबाइल, नेट, सामाजिक सञ्जाल जस्ता प्रविधिहरू अलिक पछि आए जस्तो पनि लाग्यो । केही वर्ष पहिला यी प्रविधिहरू आएका हुन्थे त दशैंका मौलिकता कम्तीमा भर्चुअल संसारमा सेभ भएर बस्थे होला । दशैंको रोटी हाल्ने पिठो ढिकीमा कुटिएको भिडिओ पोस्ट गर्न पाएको भए नयाँ पुस्ताको लागि पनि ढिकी जोगिन्थे होला ।

बाब्बियोले लठ्ठो कसरी बन्छ भन्ने टुटोरियल भिडिओ कसैले युट्युबमा अपलोड गरिदिएको भए दशैंमा पिङ रहित गाउँ हुने थिएनन् होला कुनै । घामका किरणले सितका थोपा कसरी हिरा जस्तै टल्किन्छन् भन्ने इन्स्टा रिल्सले कति करोड भ्युज पाउथ्यो होला ? झाडीले भरिएका गाउँका खेत ब्याकग्राउण्डमा नदेखियोस् भनेर क्यामरा एङ्गल मिलाई-मिलाई तस्बिर खिच्ने दबाब महसुस हुने थिएन सायद ।             

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८१ १४:४