काठमाडौं । कतिपय अवस्थामा मन हुँदा हुँदै पनि आफूले चाहेको पूरा हुँदैन । यस पटकको दशैं-तिहार बिदामा घुम्न निस्कने सोचेर त्यतिकै बसिरहनु भएको हुन सक्छ । त्यस्तोमा मन भुलाउने बहाना भिडिओ हुन सक्छ । कम्तीमा मनलाई सन्तोष मिल्छ ।
भिडिओले धेरै कुरा बताउने गर्छ । तपाईंले ती ठाउँबारे घरमै बसेर धेरै कुरा थाहा पाउन सक्नुहुन्छ । नेपालमा यो काम ट्राभल भ्लगरहरूले राम्ररी नै पूरा गरेका छन् । चाहे मोटोभ्लग होस् या डकुमेन्ट्री- कम्तीमा घुम्ने रहरलाई धेरै हदसम्म भए पनि पूरा गरिदिने गर्छन् । तर विशुद्ध यात्रामा केन्द्रित युट्युब च्यानल अत्यन्त कम छन् ।
नेपालमा घुमफिरका लागि प्रशस्तै ठाउँ छन् । तर नयाँ-नयाँ ट्राभल भ्लगरहरू जम्न सकेका छैनन् । केही सीमित भ्लगरले नै यस क्षेत्रमा राज गरिरहेको अवस्था छ । तीमध्ये सब्सक्राइबर, भिडिओ संख्या, भ्युज, नियमितता, गुणस्तर, कथ्य शैली आदिलाई आधार मानेर देशका पर्यटकीय गन्तव्य डुलाउने पाँच युट्युब भ्लगरबारे चर्चा गरेका छौं । नेपाली वर्णानुक्रम अनुसार ती निम्न रहेका छन्:
पृष्ठभूमि सूचना प्रविधि (आईटी) भए पनि खोटाङका कञ्चन राई उर्फ 'घुमन्ते' घुम्ने काममै जमे । उनै राईको नेतृत्वमा सुरु भएको घुमन्ते युट्युब च्यानलमा तराईदेखि हिमाल, पूर्वदेखि पश्चिम समेटिएको छ ।
विशेष सिनेम्याटिक शट र आकर्षक आवाज सहितको भिडिओले सबैको मन तान्ने गर्छ । यस च्यानलमा देशका विभिन्न ठाउँको मनोरम दृश्य, भेषभुषा, संस्कार संस्कृति यसबाट हेर्न सकिन्छ ।
यस च्यानलको मुगु, बढिमालिका, कोरी लगायतका स्थानको भिडिओ बढी हेरिएको छ ।
सुचन र सचिना दम्पत्ति हुन् । उनीहरू फुर्सदको समयमा देशका विभिन्न ठाउँ घुमिरहेका हुन्छन् । त्यही सिलसिलामा यात्रा सम्बन्धी भिडिओ बनाउने गर्छन् । विगत आठ वर्षदेखि उनीहरूले यस च्यानलमा भिडिओ अपलोड गर्दै आएका छन् । सुरुका दिनदेखि यात्रा सम्बन्धीको तर छोटा खालका भिडिओ यस च्यानल अपलोड हुँदै आएको थियो ।
तर केही वर्षयता भने उनीहरूको च्यानलमा अलि लामो आकारको पनि भिडिओ अपलोड हुन थालेका छन् । केही भिडिओ भने देश बाहिर पनि छन् । गज्जबको न्यारेसन, राम्रो भिडिओ गुणस्तर आदि यस च्यानलको विशेषता हुन् । च्यानलमा अपलोड भएका मध्ये गोक्यो, रारा, सगरमाथा आधार शिविर आदिको भ्रमण यात्रा धेरैले हेरेका छन् ।
उच्च स्तरीय भिडिओको पारखी हुनुहुन्छ भने युट्युब च्यानल 'नेपाल एट्थ वन्डर अफ द वर्ल्ड' तपाईंको प्रिय बन्न सक्छ । यसमा नेपालकाे बारेमा बनाइएका उच्च गुणस्तर र सिनमेटिक दृश्यले भरिएका भिडिओहरु छन् ।
यस च्यानलमा नेपालका विभिन्न भूगाेल तथा क्षेत्रहरूकाे भिडिओ हेर्न सकिन्छ । मोरङका हेमन्त भण्डारीकाे अग्रसरतामा सुरु भएको याे च्यानल दर्शकमाझ गुणस्तरका कारण चर्चामा छ । हिउँदको मनाङ, पाथीभारा, पाँच पोखरी, च्छो रोल्पा आदि ठाउँमा घुमेको यात्रालाई धेरैले हेरेका छन् ।
घुम्ने इच्छाले ट्राभल भ्लगर बन्ने पुगेकी सिर्जनाको यो यात्रा सन् २०१९ देखि मात्र सुरु भएको हो । सानैदेखि नदेखिएका ठाउँहरू जान मन पराउने उनको यो च्यानलमा साँच्चै नै मनोरम, आकर्षित साथै जोखिमपूर्ण यात्राहरूको भिडिओहरू हेर्न सकिन्छ ।
उनी आफू पुगेको स्थानबारे मात्र जानकारी दिन्नन्, त्यहाँ कसरी पुग्न सकिन्छ, यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विवरण पनि दिन्छिन् । उनको च्यानलमा जगदुल्ला ताल, हुम्लाको अनौठो विवाह रित, गोठीचौर भिडिओ धेरैले हेरेका छन् ।
फरक शैली, सरल प्रस्तुति र ठाउँहरूको विस्तृत व्याख्या सहितको भिडिओले 'पूर्वी ब्लुज'को छुट्टै पहिचान बन्न पुगेको छ । विगतमा शिक्षण पेशामा आबद्ध सचिन न्यौपाने आफ्ना विद्यार्थीलाई पढाउन देशको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक विवरणहरू पर्याप्त नभएपछि यात्रामा निस्किएका थिए ।
अहिले त्यही जोशले सचिनलाई एउटा राम्रो ट्राभलरको रुपमा परिणत गरेको छ । नेपालका देखिएका-नदेखिएका स्थानहरू ‘एक्स्प्लाेर’ गर्ने काम उनले गरिरहेका छन् । उनको च्यानलमा भुजुङ गाउँ, सिक्किम भ्रमण, मुस्ताङ आदिको यात्रालाई धेरैले रुचाएका छन् ।