काठमाडौं । युट्युबले शुल्क तिर्ने प्रयोगकर्ताका लागि प्रिमियम सेवा उपलब्ध गराउँदै आएको छ । यसो त कुनै पनि शुल्क नतिरी युट्युबका कन्टेन्ट हेर्न सकिन्छ । तर, ती कन्टेन्टमा विज्ञापन देखिन्छ । विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताले भने युट्युबको प्रिमियम सेवा लिन सक्छन् ।
ग्राहकले युट्युब प्रिमियमको सब्सक्रिप्सन नलिए पनि कम शुल्कमा विज्ञापन नहेरी कन्टेन्ट उपलब्ध गराउने फिचरमा युट्युब काम गरिरहेको छ । गुगलले एन्ड्रोइड अथोरिटीसँग ‘प्रिमियम लाइट’ फिचर ल्याउन लागेको पुष्टि गरेको हो । हुन त यो फिचर पहिले नै आएको थियो । तर, केही वर्ष बन्द भएको फिचरलाई कम्पनीले परीक्षण गरी उपलब्ध गराउने तयारी गरेको हो ।
प्रिमियम लाइट फिचर युट्युब प्रिमियमको तुलनामा आधा शुल्कमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यो सब्स्क्रिप्सन लिएको खण्डमा भने प्रयोगकर्ताले विज्ञापन हेर्नु पर्ने छैन । ब्याकग्राउन्ड पे, अफलाइन डाउनलोड, युट्युब म्युजिक सहित अन्य फिचर भने यस सब्सक्रिप्सन मोडेलमा उपलब्ध हुने छैनन् ।
गुगलले केही प्रयोगकर्तामा यस फिचरको विज्ञापन देखाइसकेको एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । पुरानोभन्दा पनि पूर्ण रूपमा नयाँ शैलीमा यो फिचर उपलब्ध गराउने गुगलले उल्लेख गरेको छ । सुरुवाती चरणमा अस्ट्रेलिया, जर्मनी र थाइल्यान्डका प्रयोगकर्ताले यो अप्सनमा साइनअप गर्न सक्नेछन् ।
यो सब्सक्रिप्सन लिएको खण्डमा विज्ञापन रहित फिड बाहेक प्रयोगकर्ताले अन्य के कस्ता फिचर अनुभव गर्न पाउँछन् भन्ने स्पष्ट जानकारी बाहिरी सकेको छैन । यो हरेक मुलुक अनुसार फरक हुन्छ वा एउटै हुन्छ भन्ने पनि स्पष्ट छैन ।