close

आईफोन १६ प्रोमा आफैं रिस्टार्ट हुने समस्या

टेकपाना टेकपाना

कात्तिक ६, २०८१ १३:१५

आईफोन १६ प्रोमा आफैं रिस्टार्ट हुने समस्या

काठमाडौं । आईफोन १६ प्रो मोडेलमा आफैं रिस्टार्ट हुने समस्या देखिएको छ । सामाजिक सञ्जाल रेडिट एप्पल सपोर्ट कम्युनिटीमा पोस्ट राख्दै प्रयोगकर्ताले फोन एक्कासि रिस्टार्ट हुने गरेको गुनासो गरेका हुन् । आईओएस १८ अपडेट गरेपछि यस्तो समस्या देखिएको बताइएको छ । 

केही प्रयोगकर्ताका अनुसार आईफोन १६ प्रो र प्रो म्याक्स आफैं रिबुट हुनुअघि फोनको स्क्रिन मधुरो हुन्छ, टच हुन छोड्छ र एक्कासि रिस्टार्ट हुन्छ । केही प्रयोगकर्ताले फोन अनलक गर्दा सोझै फेस आईडी प्रयोग गर्ने प्रयास गरे । तर, पिन राख्न भनेपछि फोन आफैं रिस्टार्ट भएको पहिचान गरेका छन् । 

केही प्रयोगकर्ताले डिभाइसमा यो समस्या देखिएपछि फोन रिप्लेस पनि गरे । तर, नयाँ फोनमा पनि त्यही समस्या देखिएको उनीहरूले उल्लेख गरेका छन् । आईफोन १६ प्लस र बेस भेरियन्टमा भने यस्तो समस्या नदेखिएको बताइएको छ । 

केही प्रयोगकर्ताले दिनमा १० देखि २० पटकसम्म फोन आफैं रिस्टार्ट हुने गरेको जनाएका छन् ।

एप्पलले आईओएस १८.१ भर्सनमा यो समस्या समाधान गरेको उल्लेख गरेको छ । यद्यपि सुरुवाती चरणमा डेभलपरले मात्रै यो अपडेट प्रयोग गर्न पाउनेछन् । आगामी साता सार्वजनिक हुने आईओएस १८.१ अपडेटमा यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८१ १३:२४