close

क्रिप्टो कारोबारीसँग प्रहरीले नै ५० लाख असुलेपछि...

टेकपाना टेकपाना

कात्तिक ६, २०८१ १७:७

क्रिप्टो कारोबारीसँग प्रहरीले नै ५० लाख असुलेपछि...

काठमाडौं । क्रिप्टोकारोबार गर्ने व्यक्तिबाट ५० लाख रुपैयाँ लिएको आरोपमा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं साइबर शाखाका सहायक हवल्दार गणेश खड्का र साजन शर्मा चपाईं तथा खोटाङका ३५ वर्षीय तेजबहादुर तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको अभियोग लगाइएको छ । प्रतिवादी तामाङ भने फरार छन् । ​

यो कथा सुरु हुन्छ, १४ भदौ २०८१ मा । क्यानडामा बस्दै आएका नेपाली नागरिक आशिष आचार्यलाई नेपाल फर्किएपछि अवैध क्रिप्टोकारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरियो । आशिषका पुराना साथी तेजबहादुर तामाङले प्रहरीलाई यो सूचना दिएका थिए । तामाङको मिलेमतोमा सहायक हवल्दार खड्का र साजन शर्माले यो घटनामा अनुसन्धान थाले ।

यद्यपि, यो अनुसन्धानको वास्तविक उद्देश्य अपराधको पर्दाफास थिएन । पैसाको असुली थियो । आचार्यलाई छुटाइदिने बहानामा उनीहरूको परिवारबाट ४९ लाख १० हजार रुपैयाँ लिइयो । रकम बुझाएपछि १६ भदौमा आचार्यलाई कुनै मुद्दा नचलाई छुटाइएको थियो । आशिष पुन: क्यानडा फर्किए, तर कथा यत्तिमै टुंगिएन । 

१७ भदौमा आशिषकी दिदी प्रहरी परिसर भद्रकाली पुगिन् । त्यसबेला प्रहरी निरीक्षक प्रतीक सिंहले आचार्यकी दिदीलाई ‘अनुसन्धान जारी रहेको र खोजेको बेला उपस्थित हुनुपर्ने’ बताए । आचार्यकी दिदीले ‘५० लाख रुपैयाँ बुझाइसकेपछि पनि अझै आउनुपर्छ र’ भनेर सोधिन् । 

त्यस क्रममा प्रहरी निरीक्षक सिंहले पैसा दिएको विषयमा आचार्यकी दिदीसँग थप सोधपुछ र अध्ययन गरे । प्रहरी निरीक्षक सिंहले  ‘आचार्य क्यानडामा बसेर क्रिप्टोमा लगानी गरेको पाइएको र नेपालमा कुनै सम्बन्ध नभएपछि उनीमाथि कसुर आकर्षित नहुने भन्दै छाडिएको’ जानकारी गराए । 

यो थाहा पाएपछि आचार्यकी दिदीले रकम असुली गर्नेहरू विरुद्ध २० भदौ २०८१ मा परिसरमा किटानी जाहेरी दिइन् ।

जाहेरीपछि सहायक हवल्दार खड्का र साजन शर्मालाई १० असोजमा पक्राउ गरी ठगीको अनुसन्धान थालियो । अनुसन्धानमा थाहा भयो कि तामाङ र आचार्य क्यानडामा साथी थिए, र तामाङले आचार्यको क्रिप्टोकारोबारको बारेमा सबै कुरा जान्दथे । आचार्य नेपाल आउँदा तामाङले प्रहरीलाई ‘गोप्य सूचना’ दिएका थिए, । त्यसैका आधारमा उनलाई पक्राउ गरी रकम असुल गर्ने योजना बुनेको थियो ।

यो प्रकरणमा ठगीका मुख्य योजनाकार तामाङ भने फरार छन् । केही वर्षअघि तामाङकी श्रीमती अनलाइन ठगीमा परेको कारणले उनी प्रहरीसँग पहिलेदेखि नै चिनजानमा थिए । यही चिनजानको फाइदा उठाउँदै तामाङले दुई प्रहरीसँग मिलेर ५० लाखको ठगी योजना रचेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८१ १७:२६