close

आधिकारिक रूपमा नेपालमा दर्ता भयो टिकटक

टेकपाना टेकपाना

कात्तिक २१, २०८१ १३:५७

आधिकारिक रूपमा नेपालमा दर्ता भयो टिकटक

काठमाडौं । शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटक औपचारिक रूपमा नेपालमा सूचीकृत भएको छ । कम्पनीले तिहारअघि नै सबै कानुनी प्रक्रिया पूरा गरेपनि मङ्गलबार सरकारी कार्यालय खुलेपछि औपचारिक रूपमा टिकटक सूचीकृत भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक सूचीकृत भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । “तीन साता अगाडि दिएको निवेदन तिहार अगाडि नै स्वीकृत भएको हो । टिकटकको नेपाली सम्पर्क व्यक्ति राम बहादुर थापाले हिजो (मङ्गलबार) मात्र चिठ्ठी बु‍झ्नु भएको छ ।”

सूचीकृत भएसँगै नेपाल सरकारले मागेको खण्डमा टिकटकले डेटाहरू दिनुपर्नेछ भने कुनै गलत सूचना प्रवाह भएको खण्डमा नेपाल सरकारको अनुरोधमा त्यस्ता भिडिओहरू तत्कालै हटाउनु पर्नेछ । त्यस्तै टिकटकले डिजिटल सुरक्षा र साक्षरताका लागि सहयोग गर्नुपर्ने छ । साथै सार्वजनिक शिक्षालाई सूचना प्रविधिमा आधारित बनाउनुपर्ने र टिकटकमा नेपाली भाषाहरूको फिल्टरिङ र मोडरेसनको सुनिश्चितता गर्नुपर्ने शर्त पूरा गर्नुपर्ने छ । 

प्रतिबन्ध फुकुवा हुनासाथ टिकटकले नेपाली कन्टेन्ट क्रियटरलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । अघिल्लो महिना क्रियटरलाई उनीहरूको व्यवसाय कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा कम्पनीले कार्यशाला आयोजना गरेको थियो । त्यस्तै तिहार पर्वलाई लक्षित गरेर पनि कम्पनीले #तिहार२०२४ कार्यक्रम आयोजना गरेको थियो ।

टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि नेपालमा भाइबर र विटक सूचीकृत भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ १४:१६