close

क्यान महासंघका नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

टेकपाना टेकपाना

कात्तिक २२, २०८१ ९:२

क्यान महासंघका नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । जापानमा हालै सम्पन्न असोसियोको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४-२६ कार्यकालका लागि सो पदमा पुनः निर्वाचित भएका हुन् ।

कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२०-२२ मा सह-उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए ।

कुँवरले भने, “सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ । साथै, यसले एसियाका विकासशील र अविकसित देशहरूबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु ।”

नयाँ कार्यसमितिमा PIKOM को प्रतिनिधि गर्दै मलेसियाका अध्यक्ष स्टेन सिंहको नेतृत्वमा उपाध्यक्षहरूमा नेपाल, थाइल्याण्ड, कोरिया, हङकङ, म्यानमार र जापानका सूचना था सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् । 

क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले कुँवरलाई पुनः उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै कुँवरको सक्रियताले नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,” अध्यक्ष पोदारले भने ।

त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले  कुँवरको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको क्षेत्रमा पहिचान बनाएको भन्दै आगामी कार्यकालमा थप उपलब्धिहरूको अपेक्षा राखे । “असोसियो जस्ता अन्तर्राष्ट्रिय संस्थामा नेपालको बलियो उपस्थितिले एसियाली र ओसियनियाली देशहरूसँगको प्रविधि क्षेत्रमा सहयोगलाई सुदृढ बनाउने अवसर प्रदान गरेको छ । यसबाट नेपालले धेरै लाभ लिनेमा म विश्वस्त छु,” अधिकारीले भने । 

हालै मात्र क्यानका अध्यक्ष रणजीत कुमार पोदार ८४ देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरूको छाता संगठन वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा-WITSA) को कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८१ १७:३८