काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनाव परिणामले विश्वभर चर्चा पाइरहेको छ । त्यसको प्रभाव कोशौं टाढा रहेको नेपालमा समेत परेको छ । चियापसलदेखि विभिन्न सामाजिक सञ्जालका पेज, अनलाइन मिडिया र व्यक्तिगत अकाउन्टहरूमा अमेरिकी निर्वाचनसँग सम्बन्धित सामग्री अहिले प्रमुख चर्चाको विषय बनेको छ ।
सामाजिक सञ्जाल प्लेटफर्महरूमा अमेरिकी निर्वाचनबारेका पोस्ट र ह्यासट्यागहरू ट्रेन्डिङमा रहेका छन् । डोनाल्ड ट्रम्प, कमला ह्यारिस एलन मस्क, #USAElection2024 जस्ता कीवर्डहरू यी प्लेटफर्ममा हावी छन् । गुगल ट्रेन्डका तथ्याङ्कहरूमा पनि पछिल्लो केही दिनमा अमेरिकी निर्वाचनका प्रमुख पात्रहरूको बारेमा खोजी बढ्दो देखिन्छ ।
विश्व शक्ति र र कूटनीतिक केन्द्र
अमेरिका विश्वकै प्रमुख शक्ति हो । अमेरिकी निर्णयहरूले विश्वभरका राजनीतिक, कूटनीतिक र सुरक्षा दृष्टिकोणमा ठूलो असर पार्न सक्छ । यसकारण त्यहाँ चुनावी परिणामले अन्तर्राष्ट्रिय कूटनीति, व्यापार सम्झौताहरू तथा सुरक्षा नीति परिवर्तन गर्ने सम्भावना राख्दछ । जसले अन्य देशहरूको राजनीति र अर्थतन्त्रमा सिधा वा परोक्ष असर पुर्याउँछ ।अमेरिकाको राजनीतिक परिवर्तनले अन्य देशहरूमा पनि प्रभाव पार्ने भएकाले विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अमेरिकी चुनावको नतिजामा चासो राख्छन् ।
सामाजिक र सांस्कृतिक प्रभाव
अमेरिका एक सांस्कृतिक शक्ति पनि हो । त्यहाँका चलचित्र, मिडिया, संगीत र प्रविधिहरू विश्वभर लोकप्रिय छन् । अमेरिकी चुनावको परिणामले यस्ता सांस्कृतिक प्रवृत्तिहरूलाई प्रभावित गर्न सक्छ । भन्नुको अर्थ राष्ट्रपति अनुसार दुनियाँभरका सांस्कृतिक र सामाजिक मूल्यहरूमा प्रभाव पर्ने गर्छ ।
विश्वव्यापी अर्थतन्त्रमा प्रभाव
अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हो । अमेरिकाका मौद्रिक नीतिहरू, व्यापार सम्झौता र विदेशी लगानी सम्बन्धीको निर्णयले नेपालजस्ता देशहरूको अर्थतन्त्रमा महत्वपूर्ण असर पार्न सक्छ । अहिले नै विश्वका विभिन्न शेयर बजार तथा सुनको मूल्यमा प्रभाव परेको खबर आइरहेका छन् ।
सेलिब्रेटीको सपोर्ट
यस पटकको अमेरिकी निर्वाचनमा विश्वकै धनाढ्य एलन मस्क, विश्वविख्यात गायिका टेलर स्विफ्ट जस्ता व्यक्तिले खुलैरै सपोर्ट गरेका छन् । त्यसो हुँदा ती सेलिब्रेटीका समर्थकहरूले चुनावी नतिजाबारे हेर्न नचाहने कुरै भएन ।