close

१७ वर्षीय दीप विक्रमले बनाएको ईलर्निङ प्लेटफर्म, जहाँ पढ्छन् १ लाख बढी विद्यार्थी

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक २३, २०८१ १७:४४

१७ वर्षीय दीप विक्रमले बनाएको ईलर्निङ प्लेटफर्म, जहाँ पढ्छन् १ लाख बढी विद्यार्थी

काठमाडौं । चार वर्षअघि कोभिड महामारीले विश्वभर आक्रान्त बनाउँदा बुटवलका १३ वर्षीय दीप बिक्रम थापा कक्षा ८ मा पढ्दै थिए । लकडाउन थियो । अनलाइन कक्षाको विकल्प आइसकेको थिएन । घरमै बसिरहेका उनलाई एकै किसिमको दैनिकीले दिक्क बनायो । 

उनी इन्टरनेटमा सीपमूलक सामग्री खोज्न थाले । युट्युबमा धेरै भिडिओ हेर । “नयाँ के गर्ने वा के सिक्ने भन्ने दोधारमा थिएँ,” थापा सम्झिन्छन्, “त्यहीबेला हाम्रो बुकमा वेबसाइट बनाउन सकिने पाठ पढें । मलाई पनि त्यस्तै वेबसाइट बनाउने चाहना भयो । र, इन्टरनेटमा सिक्न थालें ।”

उनले कोभिड महामारीकै क्रममा वेबसाइट बनाउन सिके । कक्षा ८ को जाँच दिनुपर्ने चापले पछि उनी पढाइमै केन्द्रित भए । पढाइलाई बढी प्राथमिकता दिए पनि उनी आफ्नो खाली समय वेबसाइट बनाउन सिकाउने प्लेटफर्मको सामग्री अध्ययन गरेर बिताउँथे । समयसँगै उनले कक्षा ९ र माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि उत्तीर्ण गरे । एसईई दिँदा उनी १५ वर्षका थिए । 

त्यसपछि विज्ञान संकायमा अध्ययन गर्न उनी बुटवलकै न्यू होराइजन स्कुलमा भर्ना भए । “त्यो बेला वेबसाइट बनाउन सिकिसकेको थिएँ,” उनी भन्छन्, “तर, ठ्याक्कै के सम्बन्धी वेबसाइट बनाउने दोधारमा थिएँ ।”

कक्षाकै पाठ्यक्रम अनलाइनमा खोज्दा उनले उपयुक्त सामग्री भेटाएनन् । खोज्न पनि गाह्रै थियो । भन्छन्, “एक/दुई ओटा भेटाएको थिएँ । तर, त्यसमा धेरै नै विज्ञापन देखें । त्यस्तो थर्ड पार्टी विज्ञापनले विद्यार्थीको अनुभव खल्लो बनाउँछ जस्तो लाग्यो । अनि आफैं वेबसाइट बनाउने सुर कसें ।”

यसरी वेबसाइट बनाउने योजना बनाएपछि उनले डोमेन नेम जुराए ‘ईनोट्स नेपाल डटकम’ ।

“वेबसाइट बनाएपछि कक्षा आठदेखि १२ कक्षासम्मका सामग्री राख्न थालें,” उनी भन्छन्, “यसका लागि विद्यार्थी र शिक्षकसँग सहकार्य गरेको छु ।”

सबैभन्दा पहिले उनले आफ्नो योजना शिक्षकहरूलाई सुनाए । उनका शिक्षकहरूले पनि नोट उपलब्ध गराएर थापालाई सघाए । विस्तारै उनले अन्य कक्षाका मेहनती विद्यार्थीसँग सहकार्य गरी उनीहरूले तयार पारेका नोटहरू वेबसाइटमा राखे । 

वेबसाइट बनाउने क्रममा उनले सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) लाई विशेष प्राथमिकता दिए । त्यसैको परिणाम अहिले उनको वेबसाइटमा अधिकांश विद्यार्थी गुगल सर्चबाटै आउँछन् । 

के के छन् सामग्री ?

थापाले अहिले वेबसाइटमा कक्षा ८ देखि १२ सम्मका विभिन्न विषयका नोट र पुस्तकका पीडिएफ छन् । नोट फोटो र टेक्स्टका रूपमा राखेका छन् । त्यसबाहेक उनले विभिन्न परीक्षामा आएका प्रश्नहरू नमूना प्रश्नका रूपमा राखेका छन् ।

थापाले अब यस प्लेटफर्ममा एआई इन्टिग्रेट गर्ने योजना बनाएका छन् । भन्छन्, “अहिले म एआई फिचर थप गर्ने काम गरिरहेको छु । त्यसको नाम ईनोट्स एआई हुन्छ । यो एआईले चाहिं विद्यार्थीलाई कुनै पनि पाठ सजिलै बुझाइदिनेछ ।”

यो फिचर राख्न उनले आफ्ना अर्का साथीसँग सहकार्य गरिरहेका छन् । त्यस्तै ‘मल्टिपल च्वाइस क्वेसन’ को सन्दर्भमा पनि एआईले व्यक्तिको कमजोरी र सबल पक्ष विश्लेषण गरी सिकाउन मद्दत गर्ने उनको भनाइ छ । 

थापाका अनुसार यो प्लेटफर्ममा मासिक एक लाख बढी विद्यार्थी पुग्छन् । “दैनिक १० हजार बढी विद्यार्थी र मन्थ्ली एभरेजमा एक लाख भिजिट हुन्छ ।” वार्षिक १० लाख बढी विद्यार्थीले वेबसाइट भिजिट गर्ने थापाको दाबी छ । 

गुगल एडसेन्सबाट राम्रै आम्दानी हुन सक्ने भएपछि विद्यार्थीको अनुभवलाई लिएर त्यसमा कुनै विज्ञापन नराखिएको उनी सुनाउँछन् । तेस्रो पक्ष विज्ञापनदाताबाट आउने विज्ञापन विद्यार्थीलाई उपयुक्त नहुने उनको तर्क छ । “मैले लोकल एड्स राख्न खोजेको छु,” उनी भन्छन, “रहरले बनाएको साइट हो । खर्च त्यस्तै वर्षको १५/२० हजार आउँछ । व्यावसायिक रूपमा पछि जान्छु ।”

हाल कक्षा १२ मा विज्ञान संकाय ​अध्ययन गरिरहेका थापा स्नातकमा बीएससी सीएसआईटी पढ्न चाहन्छन् । आफ्नो रूचिलाई व्यवसायमा परिणत गरी नेपालमै केही गर्ने उनको इच्छा छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८१ १८:२