काठमाडौं । एआई रोबोटले बनाएको एक चित्र १४ करोड रुपैयाँ बढीमा बिक्री भएको छ । एआई-डा (Ai-Da) नामक ह्युमनाइड रोबोटले बनाएको दोस्रो विश्व युद्धका कोड ब्रेकर एवं गणितज्ञ एलन ट्युरिङको डिजिटल चित्र १० लाख ८४ हजार अमेरिकी डलर (करिब १४ करोड ७२ लाख रुपैयाँ)मा बिक्री भएको हो ।
एलन ट्युरिङलाई ‘फादर अफ एआई’ समेत भन्ने गरिन्छ । युद्धताका नाजी जर्मनीको कोड ब्रेक गर्न उनले प्रमुख भूमिका खेलेका थिए ।
उनै ट्युरिङको डिजिटल न्यूयोर्कको सोदबीज लिलामीमा कीर्तिमानी मूल्यमा बिक्री भएको हो । यससँगै लिलामीमार्फत कला बेच्ने पहिलो ह्युमनाइड रोबोट एआई-डा बनेको छ । बिक्री भएको चित्रमा ट्युरिङको ठूलो आकारको पोट्रेट (मुहार चित्र) छ ।
एआई-डाले चित्र बनाउनेसँगै मानवसँग कुराकानी मार्फत अन्तरक्रिया समेत गर्न सक्छिन् । नयाँ प्रविधिबारे छलफल चलाउन सक्नु नै आफ्नो कामको प्रभाव भएको यस रोबोटको भनाइ छ । यस रोबोटले बनाएको चित्र त्यति ठूलो मूल्यमा बिक्री हुनुले कला र समाजमा एआईको बढ्दो प्रभाव उजागर गरेको बताइएको छ ।
अनलाइनमार्फत लिलामी गरिएको चित्रमा २७ जनाले बोली लगाएका थिए । अहिले चित्र खरिद गर्ने ग्राहकको नाम भने गोप्य राखिएको छ ।