काठमाडौं । सबैभन्दा बढी सब्स्क्राइबर भएको युट्युब च्यानल मिस्टर बिस्टका मालिक जिम्मी डोनाल्डसन भारत आइपुगेका छन् । आइतबार बिहान उनीसँगै रेस्लर/युट्युबर लोगन पल मुम्बई आएका छन् ।
मिस्टर बिस्टको नामबाटै परिचित उनलाई समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए । भारतीय युट्युबर क्यारिमिनाटीसँगको सहकार्य हुने एक कार्यक्रममा सहभागिता जनाउन मिस्टर बिस्ट भारत आएका हुन् ।
उनले त्यस क्रममा आफ्नो चकलेट ब्रान्ड फिस्टेबल्स सार्वजनिक गर्नेछन । त्यस्तै अमेजनको प्राइम भिडिओ ओटीटीमा आउने नयाँ शो पनि घोषणा गर्ने कार्यक्रम छ । यद्यपि बिस्टले यो शो के हो भन्ने खुलाइसकेका छैनन् ।
करिब दुई साताअघि क्यारिमिनाटीले मिस्टर बिस्टलाई फिचर गरेर प्यारोडी भिडिओ बनाएका थिए । सो भिडिओमा एक करोड लाइक आए आफू भारत आउने मिस्टर बिस्टले प्रतिक्रिया दिएका थिए । सो भिडिओमा अहिलेसम्म ८५ लाख बढी लाइक आएको छ भने छ करोड ६५ लाख बढी भ्युज आएको छ ।