काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक बिष्ट अनलाइन ठगी हुनबाट जोगिएका छन् । बैंकको आईटी कर्मचारी भन्दै स्क्यामरले झुक्याएर उनलाई ठगी गर्ने प्रयास गरेका हुन् । बिस्टले हालै सामाजिक सञ्जालमा एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफूलाई ठग्ने प्रयास भएको जानकारी दिए ।
बिस्टका अनुसार उनलाई सबैभन्दा पहिले कृषि विकास बैंकको कर्मचारी भन्दै एक व्यक्तिले कल गरे । त्यसमा उनलाई अनलाइन बैंकिङ अपग्रेड गर्नु पर्नेछ भनियो । बिस्टले तपाईं कहाँबाट बोल्नुभयो भनेपछि ती व्यक्तिले भने, “म हेड अफिसको आईटी डिपार्टमेन्टबाट बोलेको ।”
बिस्टले ती व्यक्तिको कुरा पत्याइहाले । त्यसपछि फोन गर्ने व्यक्तिले बिस्टलाई उनको अकाउन्ट नम्बर र जन्ममिति उपलब्ध गराउन अनुरोध गरे । बिस्टले सहजै यी विवरण दिए ।
यसपछि बिस्टलाई मोबाइल बैंकिङ एपमा जान भनियो । र, सेक्युरिटी कोड उपलब्ध गराउन अनुरोध गरियो ।
बिस्टले झट्ट सम्झिए, “सेक्युरिटी कोड त अहिलेसम्म कुनै पनि बैंकले मागेको थिएन । यो बैंकले किन मागेको होला ?”
त्यसपछि उनलाई शंका लाग्यो । उनले तत्कालै त्यो फोन राखे । र, कृषि विकास बैंक लिमिटेडको हेड अफिसका एक चिनेका व्यक्तिलाई कल गरे । बिस्टले यो सबै काम बैंकबाट नभएको थाहा पाए ।
यसपछि बिस्टले तत्कालै बैंकको शाखा कार्यालयमा फोन गरी आफ्नो खाता तत्काललाई रोक्का गरिदिन अनुरोध गरे ।
“यदि मैले सेक्युरिटी कोड र पिन दिएको भए उसले रकम ट्रान्सफर गरिसक्थ्यो । र, मलाई ठूलो हानि हुन्थ्यो,” बिस्ट भन्छन्, “यस्तो फोन आयो भने सचेत रहनु होला भनेर हार्दिक अनुरोध गर्छु ।”
उनले यस्ता घटनाबाट जोगिन सुझाव दिएका छन् । कुनै अपरिचित नम्बरबाट आएको कल झट्ट विश्वास गरी गोप्य विवरण जस्तै जन्ममिति, खाता नम्बर, पिन, पासवर्ड र ओटीटी उपलब्ध नगराउन उनले सचेत गराएका छन् ।