काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ । क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो ।
हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ उपलब्ध भइसकेको छ । क्रियटरले यस फिचरमार्फत ३० सेकेन्डसम्मका अडिओ क्लिप बनाउन सक्नेछन् । अर्थात् यस फिचरले पहिल्यै आएका गीत (म्युजिक)हरूलाई क्रियटरको इच्छा अनुसार नयाँ शैलीमा परिवर्तन गरिदिनेछ ।
यस फिचरमा क्रियटरले कुनै गीतको मुड वा विधा परिवर्तन गर्न चाहिने निर्देशन (प्रम्प्ट) राख्नुपर्छ । त्यसपछि 'ड्रिम ट्र्याक' नामको एआई सिस्टमले ३० सेकेन्डको रिमिक्स क्लिप तयार गर्नेछ । त्यसरी बनाइएका ट्र्याकमा वास्तविक ट्र्याकको पनि जानकारी हुनेछ । जसलाई क्रियटरले आफ्नो युट्युब शर्ट्समा प्रयोग गर्न सक्नेछन् ।
क्रियटरले यो फिचर युट्युब स्टुडिओभित्र गएर 'रिस्टाइल अ ट्य्राक' विकल्प मार्फत प्रयोग गर्न सक्नेछन् ।
गत वर्ष युट्युबले चार्ली पुथ, चार्ली एक्सिएक्स, डेमी लोभाटो, जोन लेजेन्ड, सिया, टी-पेन, ट्रोय सिभान जस्ता कलाकारहरूको स्वर प्रयोग गरी एआई-सिर्जित गीतहरू तयार गर्ने फिचर ल्याएको थियो । त्यस फिचर पनि केही क्रियटरहरूमा मात्र सीमित छ । यी फिचर सबैका लागि कहिलेदेखि उपलब्ध हुन्छ भनेर युट्युबले जानकारी दिएको छैन ।