close

के अधिक मात्रामा फोन चलाउँदा छिट्टै बुढो भइन्छ ?

टेकपाना टेकपाना

कात्तिक २८, २०८१ १६:५

के अधिक मात्रामा फोन चलाउँदा छिट्टै बुढो भइन्छ ?

काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ । यही सिलसिलामा स्मार्टफोन छुट्नै नसक्ने हिस्सा बनेको छ । आज विश्वभर साढे चार अर्ब बढी प्रयोगकर्ताले स्मार्टफोन चलाउँछन् ।

स्मार्टफोनका अनेकन् फाइदा छन् । तर चाहिनेभन्दा बढी चलाउँदा उत्तिकै बेफाइदा गर्छ । ​अध्ययनहरू अनुसार स्मार्टफोनले हाम्रो मस्तिष्कमा असर गर्छ । दृष्टि कमजोर हुनेदेखि बालबालिकाको वृद्धि विकास रोक्ने काम गर्न सक्छ । 

हाड तथा मांसपेशी (मस्कुलोस्केलेटल)को दुखाइ प्राय: बुढ्यौलीसँग सम्बन्धित हुन्छ । तर अहिले नै धेरै युवामा यस्तो समस्या आइसकेको छ । 

सन् २०२२ मा गरिएको एक अध्ययनले लामो समयसम्म स्मार्टफोन चलाउँदा  घाँटी, काँध, कुहिनो र हातमा दुखाइ निम्त्याउने देखाएको थियो । बंगलादेश र भारतका अनुसन्धानकर्ताहरूले अधिक मात्रामा स्मार्टफोन चलाउँदा मस्कुलोस्केलेटलमा कस्तो असर पार्छ भनेर अध्ययन गरेका थिए । सो अध्ययनले स्मार्टफोनले हाम्रो शारीरिक स्वास्थ्यलाई गहिरो असर पार्ने निष्कर्ष निकालेको थियो ।

सो अध्ययन १८ देखि ३० वर्ष उमेर समूहका ३२६ विद्यार्थीहरूबीचमा गरिएको थियो । जसमा स्मार्टफोनको लत, घाँटीको दुखाइ, काँधको दुखाइ, कुहिनोको दुखाइ र हातको दुखाइ जस्ता परीक्षण समेत गरिएको थियो । त्यसक्रममा ७० प्रतिशत  विद्यार्थीहरूले फोनको लत भएको बताएका थिए भने धेरैले घाँटी, काँध र कुहिनोको दुखाइ भएको जनाएका थिए ।

खराब मुद्रामा बसेर स्मार्टफोन चलाउनु नै शारीरिक दुखाइको प्रमुख कारण हो । उदाहरणका लागि, लामो समयसम्म घोप्टो परेर स्मार्टफोन चलाउँदा गर्धनको मेरुदण्डमा दबाब सिर्जना हुन्छ । यसले घाँटी दुख्ने हुन्छ । साथै अधिक फोन चलाउँदा निरन्तर मांसपेशी खुम्चिने, बूढी औंला र नाडी बारम्बार चलाउँदा काँध, कुहिना र हातमा गम्भीर असर पर्ने अध्ययनले देखाएको छ । 

त्यसो भए के गर्ने ?

वास्तवमा सबै कुरा सन्तुलित तरिकाले गरे समस्या निम्तिँदैन । यो नै स्मार्टफोन प्रयोगबाट आउने असर रोक्ने उत्तम तरिका हो । स्मार्टफोनको जिम्मेवारपूर्ण प्रयोगले स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट बँच्न सकिन्छ । 

-शारीरिक मुद्रामा ध्यान दिने

स्मार्टफोन चलाउँदा शारीरिक मुद्रामा ध्यान दिइएन भने चाँडो कुप्रो हुने सम्भावना हुन्छ । लामो समयसम्म घोप्टो भएर फोन चलाउँदा घाँटीसँगै पछि गएर ढाड (मेरुदण्ड) पनि दुख्न थाल्छ । त्यस्तो हुन नदिन टाउको माथि र ढाडलाई सिधा पारेर स्मार्टफोनलाई आँखाको तहमा राखेर चलाउनु राम्रो मानिन्छ । त्यस्तै टाइप गर्दा वा टच नेभिगेसन प्रयोग गर्दा स्मार्टफोनलाई ३० डिग्रीको कोणमा समात्नु पर्छ । अथवा स्मार्टफोनबाट फिल्म हेर्न फोन स्ट्यान्ड वा होल्डर प्रयोग गर्नु राम्रो हुन्छ ।

-हात र नाडीलाई सजिलो बनाउने

स्मार्टफोनमा धेरै समयसम्म टाइप गर्दा अथवा फोन समात्दा औंला दुख्ने वा कक्रक्क पर्ने हुन्छ । त्यस्तै धेरैबेरसम्म फोनलाई हातको प्रयोग गरी कानमा राख्दा कुहिनो र पाखुरा गल्छ । यसकारण लामो समयसम्म कुराकानी गर्दा केही मिनेटको अन्तरालमा फोनलाई एउटाबाट अर्को कानमा सार्नु राम्रो हुन्छ । हेडफोन/इयबरड पनि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै लामो समयसम्म टाइप गर्नुपर्ने अवस्थामा दुवै हातले फोन समात्नुहोस् । यसले बूढी औंलालाई धेरै भार पर्दैन । अधिक स्मार्टफोन प्रयोग गर्दा हात, औंला, नाडी र घाँटीका जोर्नीहरू वरिपरि सुन्निन सक्छ । यसकारण जोर्नी वरपर सुन्निनबाट बच्न नाडीलाई सिधा राख्नुपर्छ ।

-२०/२०/२० नियम 

यदि तपाईं प्राय: दिनभर मोबाइल चलाइरहनु हुन्छ भने यो नियम पालना गर्नु अत्यन्त लाभदायक हुन्छ । यो नियमअनुसार हरेक २० मिनेटमा स्क्रिनबाट आँखा हटाएर २० फिट टाढाको कुनै वस्तु २० सेकेन्डसम्म हेर्नुपर्छ । 

अमेरिकन एकेडेमी अफ अफ्थाल्मोलोजीका अनुसार आँखालाई रिसेट र आराम गर्न २० सेकेन्ड लाग्छ । तर लामो समयसम्म स्क्रिन हेर्दा आँखामा तनाव हुन्छ । यसले टाउको दुख्ने, थकाइ लाग्ने, धमिलो देख्ने जस्ता समस्या सिर्जना हुन्छ ।

यी बाहेक तपाईंले वातावरणको उज्यालोसँग मिल्ने गरी स्मार्टफोनको ब्राइटनेस मिलाउने, कोठामा उचित प्रकाशको व्यवस्था गर्ने, फन्टको साइज बढाउने जस्ता काम गरेर समेत आँखामा तनाव कम पर्नबाट जोगाउन सक्नुहुन्छ । अनि नबिर्सिकन बारम्बार आँखा झिम्क्याइरहनुहोस् । यसो गर्दा आँखा ओसिलो हुने र सुख्खापन र जलनबाट बँच्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८१ १६:४४