close

एलन मस्कको एक्समा अब कहिल्यै पोस्ट नराख्ने गार्डियनको घोषणा

टेकपाना टेकपाना

कात्तिक २९, २०८१ १२:४१

एलन मस्कको एक्समा अब कहिल्यै पोस्ट नराख्ने गार्डियनको घोषणा

काठमाडौं । बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’ले एलन मस्कको सामाजिक सञ्जाल एक्समा समाचार पोस्ट नगर्ने घोषणा गरेको छ । सोमबार एक्ससहित अन्य सामाजिक सञ्जालमा पोस्ट राख्दै द गार्डियनले कुनै पनि पोस्ट नगर्ने घोषणा गरेको हो । 

“हामीले हाम्रो आधिकारिक सम्पादकीय अकाउन्टबाट एक्समा पोस्ट गर्न रोकेका छौं । तर, एक्स प्रयोगकर्ताहरूले भने हाम्रा रिपोर्टहरू शेयर गर्न सक्नेछन्,” द गार्डियनले भनेको छ ।

ट्वीटरका रूपमा परिचित एक्समा नकारात्मकता बढी भएकाले आफूहरूले सधैंका लागि एक्समा पोस्ट नराख्ने पत्रिकाले जनाएको छ । द गार्डियनले यस कदमको कारण स्पष्ट पार्दै अगाडि लेखेको छ, “हामीलाई लाग्छ कि ‘एक्स’मा हाल नकारात्मकता धेरै बढेको छ । हामी आफ्नो पत्रकारितालाई अझ बढावा दिनका लागि स्रोतहरूको राम्रो उपयोग गर्न सक्छौं ।”

एक्समा पोस्ट राख्न बन्द गर्ने विषयमा लामो समयदेखि सोचिरहेका पत्रिकाले उल्लेख गरेको छ । खासगरी ‘एक्स’मा बारम्बार समस्याग्रस्त सामग्रीहरू देखा परिरहेकाले यस माध्यममा समाचार पोस्ट गर्न बन्द गर्नुपर्ने निर्णय लिइएको पत्रिकाले जनाएको छ । यसमा उग्र-दक्षिणपन्थी प्रचार र जातिवादसँग सम्बन्धित सामग्रीहरू पनि समावेश रहेका छन् ।

“एक्स एउटा ‘विषाक्त’ प्लेटफर्म बनेको छ भन्ने कुरा अमेरिकी चुनावले प्रमाणित गरिसकेको छ । यसका मालिक एलन मस्कले राजनीतिक माहोललाई प्रभाव पार्न यसको प्रयोग गरेका छन्,” द गार्डियनले लेखेको छ । 

द गार्डियनले एक्समा पोस्ट नराखे पनि एक्स प्रयोगकर्ताले गार्डियनका समाचार शेयर गर्न सक्छन् । साथै गार्डियनका पत्रकारले समाचार सङ्कलनका लागि एक्स प्रयोग गर्न सक्नेछन् । हाल गार्डियनले एक्स अकाउन्टलाई आर्काइभ अकाउन्टका रूपमा राखेको छ । अर्थात् यसमा पहिले पोस्ट भएका सबै सामग्री हेर्न सकिन्छ ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्समध्ये गार्डियनका सबैभन्दा बढी फलोअर एक्समा छन् । यद्यपि एक्समा पोस्ट नराख्ने घोषणा गरेपछि त्यस प्लेटफर्मबाट गार्डियनका फलोअर क्रमश: घटिरहेका छन् ।

हाल एक्समा गार्डियनमा एक करोड आठ लाख बढी फलोअर रहेका छन् । गार्डियनको फेसबुकमा ८९ लाख, इन्स्टाग्राममा ५८ लाख र टिकटकमा साढे चार लाख बढी फलोअर रहेका छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८१ १२:५१