close

निर्मला पन्त प्रकरणः युट्युबबाट भ्रामक भिडिओ हटाउन धमलाको आलटाल

टेकपाना टेकपाना

कात्तिक २९, २०८१ १९:१७

निर्मला पन्त प्रकरणः युट्युबबाट भ्रामक भिडिओ हटाउन धमलाको आलटाल

काठमाडौं । सोमबार प्राइम टाइम एचडी टिभीको युट्युब च्यानलमा निर्मला पन्त प्रकरणसँग सम्बन्धित एक भिडिओ अपलोड भयो । ‘जनता जान्न चाहन्छन्’ नामक कार्यक्रमका लागि पत्रकार ऋषि धमलाले ‘पीडित’ भनिएका नवराज अर्यालको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा अर्यालले निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी भएको दाबी गरेका छन् । सरकारले सुरक्षा दिएको खण्डमा आफूले घटनामा संलग्न तीन जना पीडकको नाम सार्वजनिक गरिदिने बताउँछन् ।

युट्युबमा अन्तर्वार्ता अपलोड भएको केही समयमै भिडिओका क्लिपहरू सामाजिक सञ्जालमा पोस्ट हुन थाले । धेरैले अर्यालको सुरक्षा ग्यारेन्टी गर्दै नाम सार्वजनिक गर्न लगाउनुपर्ने धारणा राखे ।

क्लिपहरू भाइरल हुन थालेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्याललाई मङ्गलबार कार्यालय बोलाएको थियो । सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीका अनुसार अर्याललाई सोधपुछ गर्दा उनले बोलेका विषय र निर्मला पन्त प्रकरणको घटना कुनै पनि हिसाबले मेल खाने देखिएनन् ।

“नक्कली सवारी चालक अनुमति पत्र बनाएको भेटिएपछि उहाँ ड्राइभरको सरकारी जागिरबाट बर्खास्त हुनुभएको रहेछ,” बोगटीले टेकपानासँग भने, “जागिर गएको फ्रस्टेसनमा उहाँ मानसिक रूपमा विक्षिप्त हुनुभएको जस्तो देखिन्छ ।”

त्यसपछि बुधबार पनि उनलाई सीआईबीले कार्यालय बोलाउन खोज्यो । तर, उनको परिवारले अर्याल बिहान पाँचै बजे फोन छोडेर बाहिर गएको र १०/११ बजेसम्म पनि घर नआइपुगेको जानकारी दियो । त्यस लगत्तै सीआईबीबाट खटिएको टोलीले अर्याललाई राजधानीको एक ठाउँबाट नियन्त्रणमा लियो भने कार्यक्रमका अन्तर्वार्ताकार ऋषि धमलालाई ब्युरोमा बोलायो ।

“हिजो हामीले भिडिओ पूरै हटाउने भन्दा पनि त्यसमा भनिएका भ्रामक भाग हटाउन भनेका थियौं । उहाँ (धमला)ले पनि 'हुन्छ' भन्नुभएको थियो ।” बोगटीले भने ।

तर बिहीबार साँझसम्म 'प्राइम टाइम्स एचडी' युट्युब च्यानलमा 'निर्मला पन्त प्रकरण- प्रत्यक्षदर्शीले गरे पहिलो पटक सनसनीपूर्ण खुलासा, उखुबारीमा ३ जनाले के-के गरे?' शीर्षकमा  प्रसारित उक्त भिडिओ सम्पादन गरिएको छैन । हालसम्म भिडिओमा ६ लाख ४९ हजार भ्युज आएको छ ।

धमला स्वयंले अन्तर्वाताका भ्रामक भाग हटाउने वाचा गरेपनि युट्युबमा यथावत् छ र नेपालमा अहिले ट्रेन्डिङको १८ औं नम्बरमा परेको छ । भिडिओका क्लिपहरू अन्य सामाजिक सञ्जालमा समेत भाइरल छन् । 

भिडिओमा परिवर्तन नभएको पाइएपछि टेकपानाले प्राइम टाइम टिभीका सञ्चालक समेत रहेका धमलासँग बुझ्न खोज्दा उनले भने, “भ्रामक भनेको केलाई भन्ने । हामीले उस (अर्याल)ले बोलेको कुरा राखेको हो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । भिडिओबारे बुझ्न कार्यक्रमका प्रोड्युसर ऋषि थपलियासँग कुरा गर्नू ।”

‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका प्रोड्युसर थपलियाका अनुसार अर्यालले महिनौंदेखि बारम्बार अनुरोध गरेपछि अन्ततः प्लेटफर्म दिइएको बताए । “ममाथि अनुसन्धान हुनुपर्छ, म प्रत्यक्षदर्शी भएकै कारण पीडित भएँ भनेर उहाँ (नवराज अर्याल) ले भन्नु भएको थियो,” थपलियाले भने, “उहाँले जोड गरेपछि अन्तर्वार्ता लियौं ।” 

अर्यालले महिनौंसम्म कार्यालयमा आएर आफ्नो अन्तर्वार्ता लिन हारगुहार गरेपछि मानव अधिकारका हिसाबले पनि अन्तर्वार्ता लिइएको उनले सुनाए । अर्यालले बोलेका सबै विषयको पूर्ण जिम्मेवारी उनी आफैंले लिने भनेपछि क्लिप यथावत् राखिएको पनि उनले उल्लेख गरे ।

“आफू प्रत्यक्षदर्शी भएकै कारण विभिन्न समयमा आक्रमणको प्रयास भएको उहाँले भन्नुभयो । आफूले बोलेका सबै भनाइको जिम्मेवारी लिन्छु भनेपछि हामीले अन्तर्वार्ता लिएका हौं,” थपलियाले अगाडि भने, “मिडियाले अरू केही गर्ने कुरा भएन । अभिव्यक्ति स्वतन्त्रता छ । कोही पीडित हुँ भनिसकेपछि प्लेटफर्म उपलब्ध गराएका हौं ।”

आफूहरूले विषय उठान गरिदिएको र बाँकी अनुसन्धानको भाग प्रहरीले हेर्नुपर्ने उनले सुनाए । प्रहरीले हटाउन भनेको भाग कसरी हटाउने वा के गर्ने भन्ने विषयमा आफूहरूले छलफल गरिरहेको उनले सुनाए । “भ्रामक कुरा त हामी हटाउँछौं नै,” उनले थपे । 

युट्युबमा अपलोड भएका कुनै पनि भिडिओका क्लिपहरू हटाउन सकिन्छ । उदाहरणका लागि ३० मिनेटको भिडिओ काटेर एक मिनेटको मात्रै पनि बनाउन सकिन्छ । तर, पछि हटाएको भाग छुट्टै जोड्न भने सकिंदैन ।

सीआईबीले विभिन्न सञ्चारमाध्यममा उक्त अन्तर्वार्तामा उठाइएका विषय भ्रामक भएको बताइरहँदा प्राइम टाइम टिभी र यसका सञ्चालक धमलाले विवादित अंश हटाउन आलटाल गरेका छन् । यसले मिडियाको जवाफदेहितामाथि प्रश्न खडा गरेको छ भने भविष्यमा उक्त सामग्री हेर्ने सर्वसाधारणमा गलत बुझाइ पर्नसक्ने देखिन्छ ।  ​ 

सम्बन्धित समाचारः निर्मला पन्त प्रकरणमा भाइरल भइरहेको भिडिओ भ्रामक, के भन्छ प्रहरी ?

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ ९:२७