close

नक्कली फेसबुक आईडी खोली दुबई पठाइदिने भन्दै ठगी गर्ने आईटी विद्यार्थी पक्राउ

टेकपाना टेकपाना

मंसिर ५, २०८१ २१:५०

नक्कली फेसबुक आईडी खोली दुबई पठाइदिने भन्दै ठगी गर्ने आईटी विद्यार्थी पक्राउ

काठमाडौं । दुबईमा रोजगारीको प्रलोभन देखाएर दुई लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक आईटी विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज घर भई काठमाडौंमा बस्दै आएका २१ वर्षीय सुरज पौडेल रहेका छन् । 

पौडेलले फेसबुकमा ‘सुवेदी अभिषेक’ नामको नक्कली आईडी बनाएर दुबईमा भिजिट भिसाबाट रोजगारी पाउन सकिन्छ भन्दै प्रचार गरेका थिए । पोस्ट देखेर सम्पर्कमा आएका व्यक्तिहरूसँग उनले ह्वाट्सएपमा कुराकानी गर्दै दुबई पठाउन लाग्ने खर्चका नाममा रकम असुली सम्पर्कविहीन हुन्थे ।

पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई टेकुबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलको मोबाइलमा ‘कृष्ण मुखिया’ र ‘रवि महत’ नामका अरू दुई नक्कली फेसबुक आईडीपनि फेला परेको छ । साथै, पीडितसँग गरिएका ठगीसम्बन्धी च्याट र अडिओ मेसेजसमेत फेला परेका छन् ।

प्रहरीका अनुसार सुरज पौडेल आईटी अध्ययनरत विद्यार्थी हुन् । विगत चार महिनादेखि उनले ठगी धन्दा सञ्चालन गर्दै आएका थिए । अहिले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।​

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८१ २१:५६