close

युट्युबमा भ्युज बढाउन मिस्टर बिस्टले रोनाल्डोलाई दिए यस्ता टिप्स, अरू केके कुरा भए ?

टेकपाना टेकपाना

मंसिर ७, २०८१ १०:९

युट्युबमा भ्युज बढाउन मिस्टर बिस्टले रोनाल्डोलाई दिए यस्ता टिप्स, अरू केके कुरा भए ?

काठमाडौं । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्टले फुटबलर क्रिस्टियानाे रोनाल्डोलाई भिडिओमा भ्युज बढाउने ट्रिक सिकाएका छन् । इन्टरनेट तोड्ने दाबीका साथ कार्यक्रममा बोलाइएका रोनाल्डोका अतिथि बिस्टले भ्युज बढाउने टिप्स दिएका हुन् । 

यसअघि रोनाल्डोले आफू शोमा इन्टरनेट नै तोड्ने अतिथि  ल्याउन लागेको दाबी गरेका थिए । ती अतिथि को होलान् भन्ने धेरैको चासो थियो । प्रायःले रोनाल्डोका अतिथि लिओनल मेस्सी हुने अपेक्षा गरेका थिए । १५ वर्षभन्दा लामो समयदेखि यी दुई खेलाडी कडा प्रतिस्पर्धामा रहेका छन् । कोभन्दा को उत्कृष्ट भन्ने विवाद सधैं जसो चलिरहन्छ । त्यसैले रोनाल्डोले मेस्सीलाई नै अतिथि बोलाउँछन् भन्ने अपेक्षा गरेका थिए । 

तर, रोनाल्डोले आफ्ना नयाँ प्रतिद्वन्द्वी मिस्टर बिस्टलाई ल्याएर चकित बनाएका थिए । प्रतिद्वन्द्वी यस कारणले कि अहिले युट्युबमा मिस्टर बिस्टलाई पछि पार्न सक्ने कोही छ भने त्यो व्यक्ति रोनाल्डो मात्र हुन् भन्ने हिसाबले हेरिएको छ । भिडिओमा पनि उनीहरूले यस्तै कुरा गरेका छन् । खासगरी मिस्टर बिस्टले आफू कस्ता भिडिओ किन र कसरी बनाउँछन् भन्ने विषयको जानकारी दिएका छन् । युट्युबमा कहिलेसम्म भिडिओ बनाउँछन् अनि रोनाल्डोलाई प्रतिद्वन्द्वीका रूपमा हेर्छन् वा हेर्दैनन् भन्ने विषयमा पनि सोधेका छन् । 

त्यसबाहेक मिस्टर बिस्टले रोनाल्डोलाई फुटबल सम्बन्धी विभिन्न कन्टेन्ट ल्याउन पनि सुझाव दिएका छन् । “हामी जुन कारणले तपाईंलाई हेर्न चाहिरहेका छौं, तपाईंले त्यस्तै कन्टेन्ट ल्याउनु पर्छ,” मिस्टर बिस्टले भनेका छन्, “समकालीन फुटबलरलाई ल्याएर कुनै शो बनाउन बनाउन सक्नुहुन्छ । जसरी मैले स्क्वाड गेम बनाएको थिएँ, त्यस्तै कुनै गेम खेलाउन सक्नुहुन्छ ।”

कस्ता भिडिओ मान्छे हेर्न चाहन्छन् भन्ने विषयमा पनि रोनाल्डो र मिस्टर बिस्टले चर्चा गरेका छन् । भिडिओको अन्तिममा रोनाल्डोले आफ्नो सबैभन्दा कडा प्रतिद्वन्द्वी क्लब अल हिलाल रहेको बताएका छन् । साउदीमा रेकर्ड गरिएको सो भिडिओमा रोनाल्डोले बिस्टलाई उनले चाहेकै समयमा स्वागत गर्ने बताएका छन् । 

नेपालीमै पढ्नुहोस् रोनाल्डो र मिस्टर बिस्टबिच भएको महत्त्वपूर्ण र रोचक कुराकानी !

रोनाल्डोः मैले युट्युब सुरु गर्न लागेको देख्दा तपाईंलाई कस्तो महसुस भयो ?

बिस्टः साँच्चै भन्नुपर्दा तपाईं युट्युब च्यानल खोल्नुहुन्छ भन्ने मलाई पहिले नै लागेको थियो । र, एक महिनामा दुई करोड वा तीन करोड सब्स्क्राइबर पुर्‍याउनु हुन्छ कि भन्ने ठानेको थिएँ । तर, छ करोड पुर्‍याउनु भयो । यो एक महिनाको अवधिमा सबैभन्दा बढीले सब्स्क्राइब गरेको रेकर्ड हो । त्यसभन्दा पहिले हामीले एक महिनामा दुई करोड ४० लाख बढी सब्स्क्राइबर पाएर रेकर्ड राखेका थियौं ।

रोनाल्डोः तपाईंलाई छ करोड सब्स्क्राइबर पुरा गर्न कति लाग्यो ?

बिस्टः सम्भवतः १३ वर्ष !

रोनाल्डोः के लाग्छ तपाईंलाई ? म तपाईंलाई पछि पार्न सक्छु ?

बिस्टः अहँ ! यो त तपाईं के गर्न सुरु गर्नुहुन्छ भन्नेमा निर्भर हुन्छ । यदि तपाईं अरु फुटबलर ल्याउन थाल्नुभयो र आफैले खेलेका उत्कृष्ट गेम रियाक्ट गर्न थाल्नुभयो भने मलाई लाग्छ तपाईं सबै फाड्न सक्नुहुन्छ । मलाई लाग्छ तपाईंले उत्कृष्ट कन्टेन्ट बनाउन सक्नुहुन्छ । 

रोनाल्डोः तर, यो रेकर्ड तपाईंकै लागि हो । साँच्चै भन्नुपर्दा म तपाईंको त्यो रेकर्ड तोड्न चाहँदैन ।

बिस्टः तपाईंका एक अर्बभन्दा बढी फलोअर छन् । म युट्युबमा एक अर्ब बढी सब्स्क्राइबर भएको व्यक्ति बन्न चाहन्छु । पक्कै पनि यो हासिल गर्न केही समय लाग्छ । अहिले हामीसँग ३२ करोड ४० लाख बढी सब्स्क्राइबर छन् । 

रोनाल्डोः तपाईं मेरो युट्युब च्यानल हेर्नुहुन्छ ? त्यसमा तपाईंलाई के लाग्छ ? 

बिस्टः अवश्य पनि । म गर्छु ! तपाईं अझै पनि एक व्यावसायिक फुटबल खेलाडी हुनुहुन्छ त्यसैले तपाईं धेरै व्यस्त हुनुहुन्छ । मलाई लाग्छ तपाईं आफ्नो तर्फबाट उत्कृष्ट नतिजा दिने प्रयास गरिरहनु भएको छ । मलाई लाग्छ तपाईंसँग कुनै पनि व्यक्ति सहजै काम गर्न सक्छन् । यो नै तपाईंको सबैभन्दा ठूलो विशेषता हो । 

तपाईं धेरै शानदार सहकार्यहरू गर्न सक्नुहुन्छ । टम ब्रेडीलाई कुनै भिडिओमा ल्याउन सक्नुहुन्छ । स्पीड जस्ता ठूला नामसँग सहकार्य गर्न सक्नुहुन्छ । साथै तपाईंका लागि सजिलो विकल्प के हुन सक्छ भने कुनै ठूलो खेलपछि माइक अगाडि बसेर पाँच मिनेटको छोटो कुरा गरिदिन सक्नुहुन्छ । त्यसमा तपाईंले के भयो, कसरी भयो भन्ने कुरा गर्न सक्नुहुन्छ । 

कुनै गेमपछि तपाईंको अनुभव कस्तो हुन्छ, गोल गर्दा तपाईंलाई कस्तो महसुस हुन्छ भन्ने जान्न धेरैलाई चासो हुन्छ । यसले तपाईंको प्रशंसकसँग अझ नजिकको सम्बन्ध बनाउन सहयोग पुर्‍याउँछ ।

तपाईं कल्पना गर्न सक्नुहुन्छ, रोनाल्डोले आफूले गरेका उत्कृष्ट १० गोलको भिडिओ रियाक्ट गर्दा कस्तो होला ? तपाईंलाई याद छ त्यो बाइसाइकल किक ? मैले त्यो कम्तिमा पनि १०० पटकभन्दा बढी हेरें होला । बाइसाइकल किक गर्ने योजना बनाएको बेला तपाईंको अनुभव कस्तो रह्यो भन्ने जान्न मलाई चाहिं इच्छा छ । यो चाहिं धेरै राम्रो हुन्छ । मलाई लाग्दैन कि तपाईंका स्टाफका लागि पनि यो गाह्रो काम हो । त्यसैले बढीभन्दा बढी फुटबल सम्बन्धी काम गर्नुहोस् । किनभने हामी त्यसैका लागि तपाईंलाई हेर्छौं ।  

सबै प्लेटफर्ममा एक अर्ब फलोअर पूरा गर्दा तपाईंलाई कस्तो अनुभव भयो ? उहाँ यो ग्रहका सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुनुहुन्छ ।

रोनाल्डोः यो राम्रो भयो । यो राम्रो उपलब्धि पनि हो । तर, इमानदारीका साथ भन्नुपर्दा म अचम्मित भएन । मानिसहरूले म र फुटबलप्रति कस्तो रुची राख्छन् भन्ने मलाई राम्रोसँग थाहा छ । 

हो, मेरो करियरका लागि मैले अझै पनि यो गर्छु । मैले त्यो प्यासन महसुस गरें । त्यसैले यो अचम्मको कुरा थिएन । म खुसी छु । तर, त्यही समयमा त्यति अचम्मित पनि छैन ।

बिस्टः म पनि त्यस्तै छु। हरेक पटक कुनै लक्ष्य पूरा गर्दा, ‘ठीक छ’ भन्ने महसुस हुन्छ । मैले उत्सव मनाउनुपर्छ भनेर धेरैले भन्छन् । तर, तर म सोच्छु किन मनाउनु पर्‍यो उत्सव ?

युट्युबमा जब पनि मान्छे रिकमेन्डेसन भिडिओ पाउँछन्, त्यो बेला त्यहाँ एउटा इमेज देखिन्छ ।  

रोनाल्डोः मलाई मेरो टिमले अहिले मात्र यसको बारेमा भनेका छन् । 

बिस्टः त्यो थम्बनेल हो । म भिडिओमा राख्ने थम्बनेलका कारण पनि चिनिन्छु । त्यसैलै म तपाईंलाई केही ट्रिक्सहरू दिन्छु । प्रायः थम्बनेलमा अनुहार राख्नुपर्छ । जब पनि थम्बनेलका लागि फोटो लिनुपर्ने हुन्छ त्यतिबेला मुख बन्द गर्नुपर्छ । म पहिले मुख खोल्ने गर्थें । तर, मान्छेलाई त्यसो गरेको मन नपर्ने रहेछ । उनीहरूले यो क्रिन्ज भयो भने । 

त्यसैले थम्बनेलमा राख्ने फोटोका लागि मुख बन्द गर्नुहोस् । अनुहारको हाई क्वालिटीको शट लिएर राख्नुहोस् । र, टिमलाई त्यो फोटो थम्बनेलमा प्रयोग गर्न लगाउनुहोस् । त्यस्तै फोटोका लागि अनुहारमा एक्सप्रेसन देखिनुपर्छ । 

रोनाल्डोः तपाईंका सबैभन्दा बढी समर्थक कुन देशमा होलान् ? 

बिस्टः जब हामी दक्षिण अमेरिकाको जुनसुकै ठाउँमा जान्छौं, त्यो बेला असाध्यै ठूलो भीड लाग्छ । एक पटक हामी चिली गएका थियौं । हामी एउटा होटेलमा थियौं । त्यसबेला हाम्रा समर्थकहरूले पूरै होटेल घेरेर ढोका ढकढकाएका थिए । मलाई लाग्छ तपाईंले पनि यस्तै अजिवका प्रस्थितिको सामना गर्नु भएको छ । हामीले होटेल छोड्नुपर्यो । यस्तो चाहिं बढी दक्षिण अमेरिकामा हुन्छ । अमेरिकामा त्यस्तो केही हुँदैन । तर, हामी अरू देश जाँदा यो कुरा पुरै फरक हुन्छ । 

रोनाल्डोः फुटबलमा, ४० वर्षको मान्छेका लागि यो लामो करिअर हो । अधिकांश खेलाडी ३३, ३४ वा ३६ वर्षमा सन्यास लिन्छन् । म तपाईंलाई सोध्न चाहन्छु, तपाईं युट्युबबाट कहिले सन्यास लिने ?

बिस्टः कहिल्यै पनि सन्यास लिन्नँ । म ९० वर्ष हुँदा पनि भिडिओ बनाइरहेको हुन्छु होला । म १०० वर्षभन्दा बढी बाँच्न चाहन्छु । मलाई थाहा छैन कसरी । तर, जसरी प्रविधि अत्याधुनिक भइरहेका छन्, उनीहरूले बढ्यौली कम गर्ने तरिका पत्ता लगाउँछन् होला । यदि म जे गरिरहेको छु त्यो नै गर्न छोडें भने त्यसपछि के गर्ने, टिभी हेर्ने ?

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८१ १०:९