close

प्रधानमन्त्री कार्यालयकै वेबसाइटबाट दान माग्दै सरकार, महिनौंदेखि रोडब्लकमा फोनपेको क्यूआर

टेकपाना टेकपाना

मंसिर ७, २०८१ १३:३४

प्रधानमन्त्री कार्यालयकै वेबसाइटबाट दान माग्दै सरकार, महिनौंदेखि रोडब्लकमा फोनपेको क्यूआर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट खोल्दा एउटा रोडब्लक आउँछ, जसमा फोनपेको क्यूआर राखिएको छ । उक्त क्यूआर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको हो ।

गएको असोज दोस्रो साता आएको बाढीपहिरोले देशका विभिन्न भूभागमा ठूलै क्षति निम्त्याएको थियो । त्यसपछि सरकारले प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण गर्न, उद्धार गर्न र पुनःस्थापना गर्न सहयोग माग्यो । यसरी विगत दुई महिनादेखि प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट सरकारले दान मागिरहेको छ ।

विशेषत: कुनै पनि दैवी प्रकोप आएर ठूलो जनधनको क्षति हुँदा सरकारले सहयोग माग्ने गर्छ । त्यसपछि इच्छुकले कोषमा रकम जम्मा गर्न सक्छन् । सो काम स्वेच्छिक हो । यस कोषमा ४ मंसिरसम्ममा एक अर्ब ९० करोड बढी रकम सङ्कलन भइसकेको छ । तर अझैं पनि सरकारले प्रधानमन्त्री कार्यालयको वेबसाइटमा क्यूआर राखेर दान माग्न छाडेको छैन ।

यस विषयमा कार्यालयका प्रवक्ता तथा सहसचिव प्रेमप्रसाद आचार्यसँग बुझ्दा कोही इच्छुकले सहयोग गर्लान् भनेर राखिएको बताए । "कसै इच्छुकले सहयोग गर्न सक्लान् नि त भनेर राखिएको हो । राख्दा केही बिग्रँदैन । दिनुस् भनेर त्यसरी पनि मागिएको होइन । क्यूआरबाट सजिलै भुक्तानी हुने भएकाले राखिएको हो," उनले भने ।

त्यस्तै यस क्यूआर सहितको रोडब्लकलाई अहिले तत्कालै हटाइहाल्ने निर्णय भने नभएको उनले सुनाए । तर वेबसाइटको युजर इन्टरफेसमा काम गर्ने डिजाइनहरू भने रोडब्लकलाई त्यति राम्रो मान्दैनन् । यसले वेबसाइटमा बिताउँदा प्रयोगकर्ताको अनुभव बिगार्ने उनीहरूको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८१ १५:३