close

पूर्वप्रेमिकाले फोहारमा फालिदिइन् ८३ अर्ब रुपैयाँ मूल्यको बिट्क्वाइन, कानुनी लडाइँमा युवक

टेकपाना टेकपाना

मंसिर १२, २०८१ १२:८

पूर्वप्रेमिकाले फोहारमा फालिदिइन् ८३ अर्ब रुपैयाँ मूल्यको बिट्क्वाइन, कानुनी लडाइँमा युवक

काठमाडौं । बेलायतकी एक महिलाले आठ हजार बढी ‘बिट्क्वाइन की’ भएको पूर्वप्रेमीको हार्डड्राइभ ल्यान्डफिल साइटमा फालिदिएको खुलासा गरेकी छिन् । सफाइको क्रममा हाफिना एड्डी एभान्स नामकी ती महिलाले १० वर्षपहिले तत्कालीन प्रेमी जेम्स हावेल्सको हार्डड्राइभ फोहोरको डङ्गुरमा फालेको स्वीकारेकी हुन् ।

हावेल्सका दुई छोराहरूकी आमा रहेको एभान्सले न्युपोर्ट वेल्सको फोहोरमैला फाल्ने स्थल (ल्यान्डफिल साइट)मा हार्डड्राइभ मिल्क्याएको बताएकी छिन् । उनले डेलीमेललाई भनेकी छन्, “हावेल्सले मलाई फोहोरको झोला टिपमा लैजान अनुरोध गरेका थिए । मलाई त्यसभित्र हार्डड्राइभ छ भनेर थाहा थिएन । वास्तवमा यो हराउनुमा मेरो दोष छैन ।”

एभान्सले फोहोरमा फालेको हार्डड्राइभमा आठ हजार बढी बिट्क्वाइन की थियो । ती बिट्क्वाइन हावेल्सले सन् २००९ मा माइनिङ गरेका थिए । तर, पछि उनले त्यसबारे बिर्सिए । अहिले उक्त हार्डड्राइभ एक लाख टनभन्दा बढी तौल भएको फोहोरको डङ्गुर तल गाडिएको छ ।

बिटक्वाइन माइनिङ गर्दा हावेल्स आफ्नी प्रेमिका एभान्सलाई राम्रोसँग सुत्न पनि दिँदैनथे । उनी चाैबिसै घण्टा ल्यापटप अन गरेर राख्थे । ल्यापटपको फ्यानको आवाजले प्रेमिका राम्रोसँग निदाउन सक्थिनन् । पछि उनीहरूको सम्बन्ध सौहार्द भएन र सहमतिमै छुट्टिए । 

फोहरमा हार्डड्राइभ परेको थाहा पाएपछि हावेल्स न्युपोर्ट सिटी काउन्सिलमा हारगुहार गर्न गए । तर काउन्सिलले कुनै चासो दिएन । यसपछि ‍४९ करोड ५० लाख पाउन्ड (करिब ८३ अर्ब ८० करोड ३० लाख रुपैयाँ) को क्षतिपूर्ति दाबी गर्दै वेल्सको राजधानी कार्डिफमा अवस्थित वाणिज्य अदालतमा मुद्दा दर्ता गरेका ‍छन् ।

ल्यान्डफिल साइटमा हार्डड्राइभ खोज्ने अनुमति काउन्सिलले अस्वीकार गरेपछि आफ्नो हार्डड्राइभ फिर्ता ल्याउने प्रयास अवरुद्ध भएको उनको आरोप छ । उनले फर्च्युनसँगको भनेका छन्, “यो खजाना खोजी बन्द हुने छैन । यसको मूल्य हरेक दिन बढ्दैछ ।”

न्युपोर्ट सिटी काउन्सिलले पर्यावरणीय चिन्ताको कारण देखाउँदै हावेल्सका अनुरोधहरू बारम्बार अस्वीकार गर्दै आएको छ । काउन्सिलका प्रवक्ताले भनेका छन्, “हाम्रो पर्यावरणीय अनुमति अन्तर्गत उत्खनन सम्भव छैन । र यस्तो कामले यस क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पार्नेछ ।”

हावेल्सको सम्पत्ति फिर्ता ल्याउने प्रयासमा जोडिएकी उनकी पूर्वप्रेमिका एभान्सले आफूले यसबाट कुनै फाइदा नखोजेको बताएकी छन् । उनले भनिन्, “म चाहन्छु कि उन (पूर्वप्रेमी)ले हार्डड्राइभ फेला पारून् । तर मलाई एक पैसा चाहिँदैन । म केवल उनले मसँग बारम्बार यसको कुरा गर्न बन्द गरून् भन्ने चाहन्छु ।” साथै यो विषयले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएको पनि उनले उल्लेख गरेकी छिन् ।

हावेल्स भने आफ्नो हार्डड्राइभ फिर्ता ल्याउन दृढ छन् । हार्डड्राइभमा सङ्ग्रहित बिट्क्वाइन फिर्ता आएपछि त्यसलाई बिक्री गर्दा आउने सम्पत्तिको १० प्रतिशत रकम ल्यान्डफिल साइट न्युपोर्टको संरचना परिवर्तनमा खर्चिने उनको योजना छ । उनले कानुनी लडाइँ जारी राखेका छन् । आगामी डिसेम्बरको सुरुमा उनको मुद्दाको पहिलो सुनुवाइ हुँदैछ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८१ १२:५६