काठमाडौं । बेलाबखत आफ्नाबारे कत्तिको गुगल सर्च गर्नुहुन्छ ? हास्यकलाकार मनोज गजुरेलले हालै आफ्नो गुगल सर्चबारे रमाइलो घटना शेयर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले गुगलमा आफ्नो नाम सर्च गर्दा कलाकार हरिवंश आचार्यको फोटो आएको र आफू अचम्म परेको सुनाएका छन् ।
“अरू त सबै ठीकै छ कि, तर आफैंलाई गुगल गर्ने क्रममा प्रिय दाइ हरिवंश आचार्यको फोटो देखेर म चकित भएको छु । एकचोटि मदन दाइसँग स्टेजमा हरिवंश के बनेको थिएँ, सुन्दर पिचाईं (गुगलका सीईओ)लाई त म नै हरिवंश आचार्य जस्तो लागेछ," उनले लेखेका छन्, "एक पटक हरिवंश आचार्य बन्दा त गुगल अन्योलमा पर्यो भने पटक-पटक प्रचण्ड बन्दा भोलि मैले नै पाँच हजारको जिम्मा लिनुपर्ने हो कि ?”
गजुरेलले रमाइलो स्टाटससँगै गुगल सर्च रिजल्टको स्क्रिनशट समेत शेयर गरेका छन् । जहाँ सबै फोटो उनको भएकोमा एउटामा हरिवंश आचार्यको फोटो देख्न सकिन्छ, जसको स्रोत फेसबुक हो ।
१३ नोभेम्भर २०२१ मा गजुरेलले यस फोटो आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए । त्यसबेला कलाकार आचार्यलाई जन्मदिनको शुभकामना दिन उनले सो फोटो प्रयोग गरेका थिए ।
यसबाट थाहा हुन्छ- गुगलले गजुरेलको फेसबुकबाट उक्त फोटो सर्च रिजल्टमा देखाएको छ । हुन त यो कुनै ठूलो समस्या होइन । अनि गुगलबाट भएको कमजोरी पनि होइन ।
गुगलले कीवर्ड (सर्च गर्न प्रयोग गरिने शब्द)का आधारमा नतिजा दिन सामाजिक सञ्जाल (फेसबुक, एक्स आदि), वेबसाइट (techpana.com आदि) आदि सार्वजनिक फोरममा भर पर्छ । यसरी सङ्कलन गरेको डेटाबाट नै गुगलले सर्च इन्जिनमा नतिजा देखाउँछ । यसलाई 'डेटा एग्रिगेसन' भनेर बुझ्ने गरिन्छ ।
सामान्यतः: इन्टरनेटमा सार्वजनिक रूपमा कुनै व्यक्ति जति धेरै छाउँछ, उसको नाम सर्च गर्दा उसको फोटो/भिडिओ देखिने सम्भावना धेरै हुन्छ । यो काम गुगलको सर्च इन्जिन एल्गोरिदमबाट हुने गर्छ । तर कतिपय अवस्थामा गलत नाम टाइप गर्दा, एउटै नाम धेरै हुँदा, मेटाडेटा गलत हुँदा, सूचना अभाव हुँदा, सन्दर्भ मिल्दा फरक रिजल्ट देखिन सक्छ ।
यद्यपि गुगलले सकेसम्म प्रयोगकर्तालाई सही जानकारी दिने प्रयास गर्छ । तर माथिका कारणले गर्दा गुगलबाहेकका अन्य सर्च इन्जिनमा समेत नतिजा फरक परिरहेको हुन्छ ।