close

काठमाडौंका ३ ठाउँमा राखियो वायु गुणस्तर मापन गर्ने उपकरण

टेकपाना टेकपाना

मंसिर २५, २०८१ १८:५२

काठमाडौंका ३ ठाउँमा राखियो वायु गुणस्तर मापन गर्ने उपकरण

काठमाडौं । वायु प्रदूषण मापनका लागि काठमाडौं महानगरपालिकाभित्रका विभिन्न ठाउँमा यन्त्र जडान गर्न थालिएको छ । पार्टनरसिप फर हेल्दी सिटिज (पहल) सँगको सहकार्यमा महानगरको वातावरण व्यवस्थापन विभागले मङ्गलबारदेखि यस्ता उपकरण ठाउँ-ठाउँमा राख्न सुरु गरेको हो ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको कार्यालय रहेको भवन र काठमाडौं प्लाजाको सडकतर्फको खण्डमा यन्त्र जडान गरेर यस कार्यको सुरुवात गरिन् । त्यस्तै लैनचौरमा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयमा पनि उपकरण जोडिएको छ । 

महानगरले सहरका विभिन्न १८ ठाउँमा यस्तो उपकरण जडान गर्ने योजना ल्याएको छ ।  

हेल्दी सिटिज (स्वास्थ्य सहर) गैरसङ्क्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० ओटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । काठमाडौं महानगरपालिका यो सञ्जालको एक सदस्य हो । विश्व स्वास्थ्य सङ्गठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्त्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमबर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भइरहेको छ । 

परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेका अनुसार क्ल्यारिटी नोड-एस वायु गुणस्तर सेन्सरले तत्काल अवस्थामा हावामा भएका पीएम २.५ को विवरण उपलब्ध गराउँछ । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्क उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा जान्छ ।

उपकरणले प्रदान गरेको तथ्याङ्कलाई वेब पोर्टल र मोबाइल एपबाट सर्वसाधारणको पहुँचमा पुर्‍याउने योजना भएको पाण्डेले बताए । तिनै तथ्याङ्कका आधारमा वायु प्रदूषणका कारण स्वास्थ्यमा पर्ने प्रभावबाट सर्वसाधारण समयमै सचेत बनाउन सकिने महानगरपालिकाको विश्वास छ । 

यी ठाउँसँगै कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा यन्त्र जडान हुनेछ । यस्तै चक्रपथको ठुलो भर्‍याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेसन, वडा नं. २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चाबहिल, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय, जडीबुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमबहाल, वडा नंं. १ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८१ १९:३