काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री ईभी (बीईभी) ‘ओमोडा ईफाइभ’ले युरो एनक्याप (NCAP) र एएनक्याप (ANCAP)बाट फाइभ-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । कम्पनीका अनुसार यस गाडीले सुरक्षा परीक्षणमा वयस्क यात्रु सुरक्षा, बाल यात्रु सुरक्षा र सुरक्षा सहायता प्रणालीमा फाइभ-स्टार रेटिङ पाएको हो ।
ओमोडा फाइभको ग्लोबल मोडेलले पनि युरो एनक्याप, एएनक्याप, एएसइएएन जस्ता प्रमुख सेफ्टी संस्थाहरूबाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको थियो ।
“सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै ओमोडा ईफाइभको बीईभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’, ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गर्यो र सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्यो,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।
यसले युरो एनक्यापमा सेफ्टी असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी एएनक्याप परीक्षणमा ओमोडा ईफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ ।
ओमोडा ईफाइभमा ७८ प्रतिशत रेसियोको ‘हाइ-स्ट्रेन्थ स्टिल बडी’ रहेको छ, जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुने कम्पनीको दाबी छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा-हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ ।
“यी सुविधाले गाडी दुर्घटना हुँदा स्टेबलिटी (स्थिरता) सुनिश्चित गर्दछ र अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ,” कम्पनीले भनेको छ ।