काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गरिरहेको भर्चुअल कक्षा प्रभावकारी नभएको विश्लेषण गरिएको छ । शिक्षाशास्त्री र शिक्षा क्षेत्रका अधिकारीहरूले केन्द्रको भर्चुअल कक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका हुन् ।
युट्युब, रेडिओ, टेलिभिजन र वेबसाइटमार्फत कक्षा १ देखि १२ सम्मका शैक्षिक सामग्रीहरू प्रसारण गर्ने भन्दै भर्चुअल कक्षाको अवधारणा ल्याइएको थियो । यस समाचार तयार पार्दा केन्द्रले सञ्चालन गरिरहेको लर्निङ पोर्टल (वेबसाइट) नै डाउन छ । जसमा विद्यार्थी/शिक्षकहरूलाई सहयोग पुग्नेगरी विभिन्न शैक्षिक सामग्री राखिएका थिए । वेबसाइट नै डाउन हुँदा विद्यार्थीले सामग्रीमा पहुँच पाउन सकेका छैनन् । त्यस्तै ‘एनसीईडी भर्चुअल’ नामक युट्युब च्यानलमा एक महिनादेखि कुनै भिडिओ अपलोड गरिएको छैन ।
हाल केन्द्रले रेडिओ नेपाल, एनटीभी र एनभीटी प्लसमार्फत विभिन्न समयमा फरक-फरक शैक्षिक सामग्री प्रसारण गर्दै आएको छ । यसमा शैक्षिक सूचनादेखि पाठ्यक्रममा आधारित फरक-फरक श्रव्यदृश्य सामग्री छन् । तर शिक्षा क्षेत्रकै सरोकारवालाहरू भने केन्द्रको पहलले विद्यार्थीले लाभ लिन नसकेको बताउँछन् ।
टेकपानाले नमुना अध्ययनका लागि विभिन्न सात ओटा स्थानीय पालिकाहरूलाई सम्पर्क गरेको थियो । जसमा इलाम नगरपालिका, झापा गाउँपालिका, कमलाई नगरपालिका (सिन्धुली), पोखरा महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका (दाङ), भीमदत्त नगरपालिका (कञ्चनपुर) र खत्याड गाउँपालिका (मुगु) रहेका थिए ।
यी सबै पालिकाका शिक्षा अधिकृतहरूसँग केन्द्रको प्रयासको प्रभावकारिता बुझ्दा सबैले उपलब्धिमूलक नभएको प्रतिक्रिया दिए । केन्द्रको कामबारे विद्यार्थीलाई थाहा नभएको, पर्याप्त स्रोत/साधन नभएको, थाहा भए पनि विद्यार्थीमा सिक्ने कुरा नभएको उनीहरूको गुनासो छ ।
झापा गाउँपालिकाका शिक्षा अधिकृत जीवनप्रसाद ढकाल आफ्नो पालिकामा विद्यालयसम्म विद्यार्थीहरूलाई पुर्याउन नै चुनौती भइरहेकोमा वैकल्पिक माध्यमबाट पढ्ने विषय परको कुरा भएको बताउँछन् । यदि विद्यालयसम्म विद्यार्थीहरू आए पनि भर्चुअल तथा वैकल्पिक तरिकाले पढ्न गाह्रो भएको उनी सुनाउँछन् ।
पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्य विद्यालय/विद्यार्थीहरूमा स्रोत/साधन तथा पहुँचको अभाव हुँदा जुन रूपमा प्रभावकारी हुनुपर्ने हो, त्यो नभइरहेको धारणा राख्छन् । कोरोनाकालमा समेत विद्यार्थीहरूले अनलाइन खासै नपढेको अवस्थामा केन्द्रको भर्चुअल/वैकल्पिक कक्षामा विद्यार्थीले पढ्ने कुरा अलि व्यवहारिक नभएको उनको भनाइ छ । यसमा मनोवैज्ञानिक पक्षले पनि भूमिका खेलेको उनी सुनाउँछन् ।
त्यस्तै भीमदत्त नगरपालिकाका शिक्षा अधिकृत हरिदत्त जोशीले केन्द्रका कक्षाहरूबारे विद्यालय प्रमुखहरूलाई जानकारी गराए पनि व्यवहारिक रूपमा लागु नभइरहेको बताउँछन् । “विद्यार्थी/अभिभावकहरूसँग केन्द्रको कक्षा लिन डिभाइसकै समस्या छ । त्यसमा पनि अनलाइन कक्षा लिन इन्टरनेटको पहुँच छैन,” उनले भने, “डिभाइस भएकाहरूसँग पनि केन्द्रको कक्षा लिएर लाभ लिनुपर्छ भन्ने चेतना छैन ।”
यसैगरी खत्याड गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत लोकेन्द्र बुढा विद्यालयमा नै इन्टरनेट पहुँच नभएको ठाउँमा वैकल्पिक माध्यमबाट विद्यार्थी पढ्नु टाढाको कुरा भएको बताउँछन् । टेलिभिजन/रेडिओ समेत सबैसँग नभएको अवस्थामा केन्द्रको प्रयास आफ्नो गाउँपालिकामा प्रभावकारी नभएको उनले सुनाए ।
कमलामाई नगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाखाका अधिकृत हित कुमारी पौडेल आफ्नो पालिका सदरमुकाममा हुँदा पनि विद्यालय/विद्यार्थीहरू प्रविधिमैत्री नभएको सुनाउँछिन् । निजी विद्यालयका विद्यार्थीहरूमा पहुँच भए पनि सामुदायिक विद्यालयका विद्यार्थी पहुँच बाहिर रहेको उनले बताइन् ।
यद्यपि केन्द्रको यस प्रयासलाई सराहनीय मान्नु पर्ने त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका निवर्तमान डीन प्रा.डा. चित्रबहादुर बुढाथोकी बताउँछन् । सरकारले विद्यालय तहको गुणस्तर उकास्न राम्रो शिक्षामा जोड नदिइरहेको अवस्थामा पूरक काम केही भए पनि गर्नु राम्रो भएको उनी सुनाउँछन् । तर केन्द्रको काम एकतर्फी सञ्चार भएकाले यसबाट विद्यार्थीहरूले राम्ररी सिक्छन् भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ ।
“खासमा विद्यार्थीले सूचना पाएर मात्र पुग्दैन । सूचना पाइसकेपछि उसले आफ्नो विचार निर्माण गर्नुपर्ने हुन्छ । तर हामीले एकोहोरो सूचना मात्र पठाइरहेका छौं,” उनी भन्छन्, “कक्षाकोठामा नै विद्यार्थीले राम्ररी नसिकिरहेको अवस्थामा स्वअध्ययन गरेर सिक्ने कुरा आफैंमा शङ्कास्पद छ ।”
उनका अनुसार केन्द्रले तयार पारिरहेको सामग्रीमा विद्यार्थी स्वःस्फूर्त भएर स्वअध्ययन गर्नुपर्छ । अनि यो टेलिभिजनमा आउने कार्यक्रम जस्तै हो ।
“हामीले पनि टेलिभिजन लगायतका माध्यममा आउने विभिन्न कार्यक्रम हेरिरहेका हुन्छौं । तर सधैं सबै हेर्दैनौं । मन लागे हेर्छौं, मन नलागे हेर्दैनौं । केन्द्रको कार्यक्रमको हकमा पनि यही लागु हुन्छ,” उनी भन्छन्, “थोरै विद्यार्थीले यसको लाभ लिएका हुन सक्छ्न् । तर समग्रमा कुरा गर्दा सबैले पढ्दैनन् ।”
यसैबीच, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक/भर्चुअल कक्षाको प्रभावकारिता अध्ययन गर्ने तयारी गरेको छ । केन्द्रमा शैक्षिक सामग्री उत्पादन गर्ने शाखाका अधिकृत गणेश भट्टराईले यसबारे अध्ययन/अनुसन्धान हुने बताए ।