काठमाडौं । तनहुँमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले पालिकाहरूसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले भानु नगरपालिकामा केही दिनमै वितरण सुरु हुने र अन्य पालिकामा वितरणको काम सुरु भइसकेको जानकारी दिए ।
भण्डारीका अनुसार स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्नेमा तनहुँ पहिलो जिल्ला भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण हुँदै आएकोमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तनहुँलाई नमुना जिल्लाको रूपमा वडा तहबाट वितरण गर्ने योजना ल्याएको हो ।
“हामीले स्थानीय तहमै फोटो खिच्न (बायोमेट्रिक) का लागि व्यवस्था माग गरेका छाैँ । यदि यस्तो व्यवस्था भए छपाईपछि परिचयपत्र सिधै सम्बन्धित पालिकामा पुग्ने र सेवाग्राहीले आफ्नो घरदैलोमै प्राप्त गर्ने थिए,” भण्डारीले भने ।