काठमाडौं । रुसले सन् २०२५ मा इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउने सम्भावना देखाएको छ । सोमबार रुसी सिनेटर आर्ट्योम शेइकिनले समाचार एजेन्सी आरआईए नोभोस्तीलाई यसबारे जानकारी दिएका हुन् ।
शेइकिनका अनुसार यदि ह्वाट्सएपले रुसका सुरक्षा निकायहरूसँग प्रयोगकर्ताको जानकारी साझा गर्न अस्वीकार गरे प्रतिबन्ध लाग्नेछ । खासगरी विदेशी कम्पनीहरूले रुसी कानुनको पालना गर्नुपर्ने, नत्र उनीहरूको सञ्चालनमा समस्या आउने शेइकिनले चेतावनी दिएका छन् ।
“विदेशी कम्पनीहरूले रुसी कानुनको पालना गर्नुपर्छ । नत्र उनीहरूलाई समस्या आउन सक्नेछ,” उनले भने । राज्य डुमाका उपसभापति ओलेग मातवेचेभका अनुसार ह्वाट्सएप हाल चरमपन्थी र आतङ्कवादी समूहहरूले प्रयोग गरिरहेका छन् ।
तर यसको व्यवस्थापनले रुसी सुरक्षा निकायहरूसँग सहयोग गर्न अस्वीकार गरेको छ। उनले सोमबार राज्यसम्बद्ध पत्रिका पार्लामेन्ट्सकाया गजेतालाई ह्वाट्सएपप्रतिको धारणा सुनाएका हुन् ।
“हामीले आफ्नो चाल चलिसक्यौं, अब अदालतले नै ह्वाट्सएपबारे निर्णय गर्नेछ,” मातवेचेभले भने । साथै ब्लक गर्नुअघि रुसी अधिकारीहरूले ह्वाट्सएप ‘सहयोग गर्न तयार छ कि छैन’ भनेर पहिलोपटक जाँच गर्ने उनले थपे ।
१९ डिसेम्बरमा रुसको मिडिया नियामकले ह्वाट्सएप र स्काइपलाई एउटा रजिस्टरमा समावेश गरेको छ । जसअनुसार यी एपले प्रयोगकर्ताका डेटा रुसमै भण्डारण गर्न र आवश्यक परे ती डेटा सरकारी निकायलाई उपलब्ध गराउनुपर्नेछ ।