काठमाडौं । तीन दिनअगाडि धर्मबहादुर खत्रीले आफ्नो टिकटक अकाउन्टमा एउटा भावुक भिडिओ पोस्ट गरे। उनी साथीको बाइकको पछाडि बसेका थिए । भिडिओमा ब्याक क्यामेराले बाटोको दृश्य खिच्यो, अनि क्यामेरा आफ्नो मुहारतिर फर्काउँदै उनले केही बोले ।
उक्त भिडिओमा उनले निराशाजनक भावको अडिओ प्रयोग गरेका थिए । त्यसमा भनिएको थियो, “एकदिन मेरो ठूलो दुर्घटना होस् । म जीवन र मृत्युसँग लडिरहँदा तिमीले मलाई अस्पताल पुर्याऊ । डाक्टरले तिमीलाई भनून्, ‘सरी, मैले बचाउन सकिनँ ।’ तब तिमीलाई मेरो मायाको आभास हुनेछ । तर, म सदाका लागि निदाउनेछु ।” यो भिडिओ उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ६ लेनमा बनाएका थियो ।
यस भिडिओ पोस्ट गरेको दुई दिनपछि बिहीबार साँझ करिब साढे ६ बजे खत्रीको बाइक दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
खत्री २५ वर्षीया शर्मिला थापाले चलाएको बाइकको पछाडि बसेका थिए । धनगढी उपमहानगरपालिका-५ का पुरन शाहले चलाएको अर्को बाइकसँग ठोक्किँदा दुर्घटना भएको हो । ठोक्किएपछि खत्री उछिट्टिएर अगाडि बजारिए, जसका कारण घटनास्थलमै उनको ज्यान गएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।
उनका अनुसार प्रारम्भमा खत्रीले नै बाइक चलाएको आशंका गरिएको थियो । तर, स्थानीयसँग बुझ्दा उनी पछाडि बसेको पुष्टि भएको डीएसपी बोहराले सुनाए ।
मृतक खत्री बाजुराको बडीमालिका नगरपालिका–७ का बासिन्दा हुन् । तालिमका लागि पुस ९ गते धनगढी पुगेका खत्रीको निधनपछि सामाजिक सञ्जालमा धेरैले सहानुभूति व्यक्त गरेका छन् । उनले बनाएको भिडिओजस्तै मृत्यु भएको घटनाले धेरैलाई भावुक बनाएको छ । ‘भगवानले बोलेको शब्द पुर्याउँछन् भन्थे, हो रहेछ’ भन्दै धेरैले दुखेसो व्यक्त गरेका छन् ।