काठमाडौं । ललितपुरकी रश्मी मल्ल (नाम परिवर्तन)लाई फेसबुकमा ‘डाक्टर आलोक’ नामको अकाउन्टबाट फ्रेन्ड रिक्वेट रिक्वेस्ट आयो । यो गत मंसिरको घटना हो ।
रश्मीले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । त्यसपछि आफूलाई ‘डाक्टर आलोक’ भन्ने व्यक्तिले रश्मीलाई आफ्नो बारेमा जानकारी दिए । कुरा गर्दै जाँदा उनीहरू नजिकिए । त्यही क्रममा ती व्यक्तिले आफू डाक्टर भएको र अनलाइबाट सेवा दिने गरेको बताए । उनले घरमै पुगेर पनि सेवा दिने गरेको बताए ।
रश्मीलाई छालासम्बन्धी रोग र सुगर भएकाले ‘डाक्टर आलोक’ लाई घरमै आउन भनिन् । र, लोकेसन पठाइन् । त्यसपछि ‘डाक्टर आलोक’ रश्मीको घर पुगे । “घरमा पुगेपछि यो औषधि खानुस् भनेर बेहोस् हुने औषधि खुवाएको रहेछ,” टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, “महिला बेहोस् भएपछि सुन र नगद लुटेर भागेछ ।”
रश्मी होसमा आएपछि आफू लुटिएको थाहा पाइन् । र, २० मंसिरमा कार्यालयमा निवेदन दिइन् । त्यसैका आधारमा सीसीटिभी फुटेजबाट त्यस घटनामा मोहत्तरी घर भई हाल ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेको पत्ता लाग्यो । र, प्रहरीले उनलाई शुक्रबार नुवाकोटबाट नियन्त्रणमा लियो ।
प्रहरी उपरीक्षक आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आरोपी मण्डलले सामाजिक सञ्जालबाट एक्लो व्यक्ति पहिचान गर्ने र उपचारका नाममा लुटपाट गर्ने गरेको देखिएको छ । उनले सन्तान विदेश गएका र घरमा एक्लो रहेको व्यक्तिलाई निशानामा पारी लुट्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट एक एक वटा आईफोन, भिभो र सामसङ फोनसहित नगद ५९ हजार रुपैयाँ बरामद गरिएको छ ।
उनीमाथि चोरी सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।