काठमाडौं । ह्याकरहरूले शृंखलाबद्ध रूपमा विभिन्न कम्पनीका क्रोम ब्राउजर एक्सटेन्सन ह्याक गरेको पाइएको छ । करिब दुई सातादेखि फैलिएको यस आक्रमणबाट कम्पनीहरूका एक्सटेन्सनमार्फत गोप्य सूचना चोरी भइरहेको सुरक्षा जानकारले बताएका छन् ।
क्यालिफोर्नियास्थित डेटा सुरक्षा कम्पनी ‘साइबरहेभन’ समेत यो आक्रमणमा परेको छ । एक विज्ञप्तिमार्फत कम्पनीले क्रिसमस इभमा आफ्नो क्रोम एक्सटेन्सनमा साइबर आक्रमण भएको पुष्टि गरेको छ ।
डेभलपरहरूलाई लक्षित गर्दै धेरै कम्पनीका क्रोम एक्सटेन्सन ह्याक भइरहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यस ह्याकिङको भौगोलिक दायरा अझै स्पष्ट भएको छैन । यसबाट लाखौं प्रयोगकर्ताको व्यक्तिगत जानकारी चुहिन सक्ने खतरा बढेको विश्लेषण गरिएको छ ।
ब्राउजर एक्सटेन्सनहरू सामान्यतया इन्टरनेट प्रयोगकर्ताले आफ्नो वेब ब्राउजिङ अनुभवलाई सजिलो बनाउन प्रयोग गर्छन् । साइबरहेभनको हकमा क्रोम एक्सटेन्सन वेब-बेस्ड एप्लिकेसनहरूमा प्रवाह हुने युजर डेटाको निगरानी र सुरक्षा गर्न प्रयोग गरिएको थियो ।
टेक्सासस्थित नज सेक्युरिटी नामक कम्पनीका सहसंस्थापक जेमी ब्लास्कोले साइबरहेभन जस्तै अन्य धेरै क्रोम एक्सटेन्सनहरू पनि यसै तरिकाले प्रभावित भएको बताएका छन् । उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सँग सम्बन्धित एक्सटेन्सनहरू मारमा परेका छन् ।
क्रोम निर्माता गुगलले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।