काठमाडौं । चन्द्रागिरी हिल्स जाने यातायातको प्रमुख साधन चन्द्रागिरी केबुलकारको सेवा सोमबार एक्कासि बन्द भयो । केबुलकारको हाइड्रोलिक पाइप फुट्दा कुदिरहेका केबुलकार अचानक रोकिए ।
दिउँसो साढे २ बजेतिर सेवा बन्द हुँदा केबुलकारमा सवार दर्जनौं यात्रु अत्तालिएका थिए । लगत्तै केबुलकारको २२ ओटा डिब्बामा रहेका यात्रुहरूलाई आपतकालीन उद्धार प्रणालीमार्फत तल्लो स्टेसनमा झारियो । माथि पुगिसकेका यात्रु भने तत्काल फर्किन पाएनन् ।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले केबलकार रोकिँदा डिब्बामा रहेका यात्रुलाई आपतकालीन उद्धार गरिएको बताए । “हाइड्रोलिक तेल लिक भएपछि कम्पनीले सेवा बन्द गरी मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो,” उनले भने, “यस घटनामा कुनै मानवीय क्षति भएको छैन ।”
केबुलकारको हाइड्रोलिक प्रणालीमा समस्या आउँदा करिब डेढ घण्टा सेवा बन्द भएको कम्पनीको भनाइ छ । यो प्रणालीमा प्रयोग हुने पाइपमा समस्या आउँदा केबुलकार चल्न नसकेको चन्द्रागिरी हिल्सका एचआर एवं एडमिन म्यानेजर झलक पौडेलले बताए । उनका अनुसार पाइपको मुख जोड्ने नट लुज हुँदा हाइड्रोलिक तेलले आवश्यक दबाब सिर्जना गर्न सकेन, जसकारण केबुलकार चल्न छोडेको थियो ।
पौडेलले यस घटनालाई सामान्य प्राविधिक गडबडी भन्दै केही समयमै समाधान गरिएको बताए । उनका अनुसार चन्द्रागिरी केबुलकारमा पहिलो पटक यस्तो समस्या देखिएको हो । “मेसिनरी कुरा हो, कहिलेकाहीँ यस्तो सामान्य समस्या देखापर्न सक्छ । पाइप मर्मत गर्नासाथ सेवा पुनः सञ्चालनमा आएको छ,” उनले भने ।
केबुलकारको नियमित मर्मतसम्भार नहुँदा यस्तो घटना भएको हुन सक्ने आशंका गरिएको छ । कतिपयले केबुलकारको सुरक्षामा समेत प्रश्न उठाएका छन् ।