close

सरकारको नागरिक एपमा सजिलै पिनकोड बाइपास हुने समस्या

टेकपाना टेकपाना

पुस १७, २०८१ २०:३०

सरकारको नागरिक एपमा सजिलै पिनकोड बाइपास हुने समस्या

काठमाडौं । नागरिक एपमा पिनकोड बाइपास हुने समस्या देखिएको छ । सुरक्षाका लागि राखिएको फिचरले राम्रोसँग काम नगर्ने तथा गलत पिनकोड राख्दा समेत एप खुल्ने समस्या देखिएको हो । 

क्रमशः सम्पूर्ण सरकारी सुविधा एउटै एपबाट दिने गरी एकीकृत एपको रूपमा ल्याइएको नागरिक एपको प्रोफाइल आइकनभित्र पिनकोड सेट गर्ने विकल्प छ । सामान्यतया यदि तपाईँले यहाँबाट पिनकोड सेट गर्नु भएको छ भने तपाईँको मोबाइलमा अरू कसैले पहुँच पाएको खण्डमा पनि उक्त पिनकोड बिना कसैले पनि तपाईँको नागरिक खोल्न सक्दैन । 

तर अहिलेको सुरक्षा कमजोरीका कारणले पिनकोड नै नराखे पनि नागरिक एप खुल्ने समस्या देखिएको हो । यदि तपाईँले नागरिक एप खोल्न गलत पिन राखेर अथवा पिन नै नराखेर एक स्टेप ब्याक गर्नु भयो भने एप स्वतः खुल्छ ।

यो कमजोरीका कारण मोबाइल एप बाहिरबाट सुरक्षा खतरा नदेखिए पनि मोबाइलमा मालवेयर रहेको अथवा मोबाइल नै कोही अनधिकृत व्यक्तिको हातमा पुगेको खण्डमा यो एपमा रहेका व्यक्तिगत विवरण लिक हुने जोखिम देखिएको छ ।

नागरिक एपको डेभलपर टिमले पिनकोड बाइपास भए पनि सेक्युरिटी ब्रिच भने नभएको दाबी गरेको छ । “बगका कारण यस्तो समस्या आएको हो,” डेभलपर टिमका एक सदस्यले भने, “यो फिचर नै हटाउने कि अबको अपडेटमा सुधार गर्ने भन्ने विषयमा सोचिरहेका छौँ । सम्भवतः अबको अपडेटमा यो समस्या हल भएर आउँछ ।”

पछिल्लो अध्यावधिक: पुस १८, २०८१ ११:११