close

हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सामाजिक सञ्जालमा ह्याशट्याग अभियान

टेकपाना टेकपाना

पुस २४, २०८१ ११:२७

हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सामाजिक सञ्जालमा ह्याशट्याग अभियान

 

काठमाडौं ।  प्यालेस्टाइनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि सामाजिक सञ्जालमा ह्याशट्याग अभियान सुरु भएको छ । विगत १५ महिनादेखि बन्धक तथा बेपत्ता नेपाली विद्यार्थी जोशीलाई हमासले रिहाइ गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता, कलाकार र राजनीतिज्ञले अभियानमा ऐक्यबद्धता जनाएका हुन् । 

यसअन्तर्गत अहिले मुख्यतः चार ह्याशट्याग ट्रेन्डिङमा छन् । #BipinJoshi #ReleaseBipinJoshi #HamasPlease #QatarSaveBipin अहिले सामाजिक सञ्जाल फेसबुकमा ट्रेन्डिङमा छन् । 

“हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचीमा नेपालका विपिन जोशीको नाम छैन,” गणेश कार्कीले विपिनको पक्षमा एक पोस्ट लेख्दै भनेका छन्, “विपिनको नाम थप्न कतारले हमाससँग सिफारिस गर्न सक्छ । हमासले अकारण नै बन्धनमा परेका विपिनलाई मुक्त गरी दिन सक्छ । यी भए सम्भावनाका कुरा ।”

त्यस्तै अगाडि भनिएको छ, “यसमा हामीले विनम्रतापूर्वक कतार र हमासलाई आग्रह गर्न सक्छौँ कि विपिनलाई मुक्त गरिदेऊ । यसका लागि विपिन जोशीको नाममा #BipinJoshi #ReleaseBipinJoshi #HamasPlease #QatarSaveBipin जस्ता ह्यासट्यागहरू प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न सक्छौँ ।”

“थाहा छैन, हामीले यति गर्दा सकारात्मक प्रभाव परेर, दबाब वा अनुनय गरेर विपिन छुट्छन् कि छुट्दैनन् ? तर यति गर्दा हाम्रो तर्फबाट केही समय बाहेक अर्थोक केही पनि खर्च हुँदैन । केही नगुमाइ कसैको जीवन फर्काउन यति त हामी गर्न सक्छौं ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका कार्कीको यो पोस्टलाई सयौँ प्रयोगकर्ताले शेयर गरेका छन् । र, हजारौँले कपी पेस्ट गरी आफ्ना सामाजिक सञ्जालमा राखेका छन् । 

त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले विपिनप्रति समर्थन जनाउन कमेन्टमा पनि ह्याशट्याग राख्न थालेका छन् । अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिनलाई हमासले ७ अक्टोबर २०२३ इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्रतर्फ लगेको थियो ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८१ ११:२७