काठमाडौं । अचेल विद्यार्थीहरूले आफ्नो स्कुल फि कति तिर्न बाँकी छ भनेर बुझ्न विद्यालयको प्रशासनसम्म पुगिरहनु पर्दैन । मोबाइलमा विद्यालयको एप डाउनलोड गरेर महत्त्वपूर्ण सूचना, तिर्न बाँकी शुल्क, परीक्षा आदि जस्ता जानकारी लिन सकिन्छ ।
यो एप विद्यालय, कर्मचारी, विद्यार्थी सबैले प्रयोग गर्न मिल्नेगरी डिजाइन गरेर बनाइएको छ । यसको सफ्टवेयरमा एउटै संस्थाभित्रका फरक फरक भूमिकामा रहेका व्यक्तिलाई उनीहरूसँग सम्बन्धित डेटा मात्र हेर्न पाउने गरी व्यवस्थापन गरिएको हुन्छ ।
यसरी विद्यालय तथा कुनै संस्थाभित्र हुने कामलाई क्लाउडबाट सहज तरिकाले गर्नसक्ने सफ्टवेयर निर्माणको काम गर्दै आएको छ, ई-जोन इन्टरनेसनल नेपाल ।
सन् २०१० बाट सुरु भएको यस कम्पनीले १५ सयभन्दा बढी संस्थाका काम पूर्ण रूपमा क्लाउडबाट गर्न सकिने गरी अटोमेसन गरिसकेको छ । कम्पनीका संस्थापक दामोदर अधिकारीका अनुसार कम्पनीले साना संस्थादेखि विश्वविद्यालयसम्मलाई अटोमेसन गर्ने काम गरेको छ । यी सबै संस्थाका तीन लाखभन्दा बढी प्रयोगकर्ताले ई-जोनको सफ्टवेयरको प्रयोग गर्दै आइरहेका छन् ।
“मन्टेश्वरीदेखि विश्वविद्यालयसम्मका काम हामीले गरिरहेका छौँ । साना पसलदेखि, होल डिस्ट्रिब्युटर पसलहुँदै सयौँ स्थानमा शाखा भएका कार्यालयका काम पनि गरिरहेका छौँ,” अधिकारी भन्छन्, “एउटा सामान्य स्कुलदेखि केएमसी, निस्ट जस्ता दशौँ इन्स्टिच्युट चलाउने ग्रुपहरूसँग काम गरिरहेका छौँ ।”
ई-जोनले क्लाउडमा आधारित भएर संस्थाको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) तयार गर्छ । संस्थाको जानकारी, करसँग सम्बन्धित विवरण, आर्थिक कारोबार, नयाँ सुविधा, कर्मचारीको हाजिरी, भुक्तानी लगायत संस्थाका सम्पूर्ण काम एउटै सफ्टवेयरबाट गर्न सकिन्छ । संस्थामा जोडिएका व्यक्तिले आफ्नो सरोकारका विषयमा जुनसुकै स्थानमा बसेर जानकारी पाउन सक्छन् ।
ई-जोनसँग केएमसी ग्रुपका एजुकेसनल इन्स्टिच्युट, हिमाल इन्जिनियरिङ कलेज, निस्टका कलेजहरू जोडिएका छन् । साथै राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालय, आयल निगम, नागरिक उड्डयन प्राधिकरण जस्ता सरकारी निकायसँग पनि ई-जोनले सहकार्य गरिरहेको छ । ई-जोन नेपालमा पूर्णरूपमा क्लाउडमा आधारित सफ्टवेयर उपलब्ध गराउने भरपर्दो कम्पनी भएको प्रमुख कार्यकारी निर्देशक (सीईओ) अधिकारीको दाबी छ ।
ई-जोनको सुरुवात
सन्दर्भ सन् २००८ तिरको हो । सन् २०२० मा क्लाउडको प्रभुत्व हुने पूर्वानुमानसहित अन्तर्राष्ट्रिय रिसर्चका जर्नलहरू प्रकाशित भए । त्यस बेला माइक्रोसफ्ट, एप्पल जस्ता कम्पनीहरूले क्लाउड सार्वजनिक गरिसकेका थिए । त्यसपछि दामोदरसहितका साथीहरूले अन्तर्राष्ट्रिय ट्रेन्डलाई पछ्याउँदै क्लाउडमा आधारित भएर सफ्टवेयर बनाउने निधो गरे । “भविष्य जे मा छ, त्यसैमा काम गर्यो भने पछि गएर सजिलो हुन्छ भनेरै क्लाउडमा काम गर्ने सोच बनायौँ । ग्लोबल रिसर्चहरूकै गाइडलाइन पच्छ्याउँदै हामी यहाँ आइपुगेको हौँ,” उनले भने ।
यही सोचलाई पछ्याउँदै सन् २०१० मा ई-जोन सुरु भयो । ई-जोनको नेतृत्व सोही बेलादेखि हालसम्म दामोदर आफैँले सम्हाल्दै आएका छन् । ई-जोन एउटा फरक सोचबाट बनेको उनी बताउँछन् । त्यस बेलामा डेस्कटपबाट नै सबै कामहरू हुने गरेका थिए । उनी भन्छन्, “हामीले त्यतिखेर डेस्कटप छोडेर सन् २०२० मा क्लाउडको डोमिनेन्स हुन्छ भनेर काम थाल्नु जोखिमपूर्ण कदम नै थियो । अनि हाम्रो आइडिया नै लगानी बनेको थियो ।”
त्यति बेला क्लाउडको माध्यमबाट काम गर्ने कुरा नौलो थियो । कम्पनीको सुरुवाति चरणमा क्लाउडबाट सफ्टवेयर चलाउन ग्राहकलाई कन्भिन्स गर्नु कुनै चट्टान फोर्नु भन्दा कम नरहेको उनी बताउँछन् । “मोबाइलबाट नै सबै डेटा आउँछ भनेर बुझाउन गाह्रो थियो । सफ्टवेयरको डेटा सबैले हेर्छन्, अकाउन्टिङको डेटा लिक हुन्छ भन्ने सोच थियो । यसबारे बुझाउन असाध्यै गाह्रो थियो ।”
त्यसबेला क्लाउडबाट चलाउन मिल्ने सफ्टवेयर बनाएको र यो सरल र प्रभावकारी भएपनि विश्वास जित्न भने निकै सकस परेको उनी सम्झन्छन् । ई-जोनलाई बजार पाउन निकै समय लाग्दा धेरै कठिनाइहरू पनि आए र धेरै हदसम्म दबाब पनि महसुस भएको उनले बताए । तर काम गर्नु अघि रिसर्च गरिएकाले भविष्यलाई सम्झिएर ‘फ्रस्टेड’ नै हुनुपर्ने अवस्थामा भने नपुगेको उनले सुनाए । एउटा नवीन विचार, मेहेनत र समर्पणले ई-जोनले १५ वर्षको लामो यात्रा पार गरेको उनी सुनाउँछन् ।
त्यसपछि मानिसहरूको विचार बदलिन थाल्यो
रिसर्चले भनेजस्तै क्लाउडले सन् २०२० यता साँच्चै नै प्रभुत्व जमाउन थाल्यो । कोभिड- १९ को महामारीपछि क्वाउडको प्रयोग पनि निकै बढ्यो । क्लाउडमा राखिएका सफ्टवेयर पनि भरपर्दो देखिए । नेपालका कतिपय कम्पनीले बनाएका सफ्टवेयर अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने स्तरमा बनि नसकेको भए पनि कामलाई सजिलो बनाउने खालका भने अवश्य थिए ।
अटोमेसनको विषयमा साक्षरता कम हुँदा जानकारी दिएर पैसा खर्च गरेर सफ्टवेयर बनाउन कन्भिन्स गर्नुपर्ने अवस्था केही हदसम्म अझैँ बाँकी रहेको उनी बताउँछन् । यसबाट अटोमेसन गरेबापत लिइने शुल्कभन्दा ठुलो दायित्व कम्पनीले बोक्नुपरेको उनी बताउँछन् ।
त्यसमाथि सफ्टवेयरमा केही समस्या आएमा गुनासो आउने काम कहिल्यै सकिँदैन । “राम्रो प्रोडक्ट भएकाले धेरै गाली खाइदैँन । तर कस्टमरहरूले सफ्टवेयर चलाउन हामीसित मान्छे नै छैन, म्यानेजमेन्टले मानेन जस्ता बहाना पनि बनाउँछन् । तै पनि सफ्टवेयर भनेको सासू-बुहारी जस्तो हो, कतिपय अवस्थामा कस्टमरले चलाएनन् भन्छौँ । कस्टमरले मैले भने जस्तो भएन भनेर भन्ने कुरा चलिरहन्छ ।”
संस्था पूर्ण रूपमा अटोमेसनमा गएपनि त्यसको एक चौथाइ सुविधा मात्र प्रयोग गर्ने प्रवृत्ती रहेको उनले बताए । “तपाईँको त्यत्रो पैसा खर्च भएको छ, त्यही अनुसार फिचर पनि छन्, सबै चलाउनुस् न भन्छौँ । तर अटोमेसनमा लैजान मेहेनत लागेको जस्तै यसलाई चलाउन पनि मेहेनत नै गर्नुपर्छ,” अधिकारी भन्छन्, ‘ अटोमेसनमा गएपछि कर्मचारी र व्यवस्थापन पनि अनुशासनमा बाँधिन्छन् । त्यही भएर म्यानुअल काम नै रुचाउने पनि हुन्छन् । तर, कम्पनीको चुस्त व्यवस्थापनका लागि अटोमेसन निकै फाइदाजनक हुन्छ । कतिपयले यसको फाइदा पनि लिइरहेको देखिन्छ ।”
कुनै संस्था अटोमेसनमा जान्छ भने त्यस संस्थाको भ्यालु १० देखि ३० प्रतिशतसम्म बढ्ने उनको दाबी छ । राम्रो व्यवस्थापन भएका शैक्षिक संस्थाहरू अटोमेसनमा गइसकेको उनले बताए । ग्रामीण भेगका राम्रो व्यवस्थापन भएका स्कुल, कलेजले पनि अटोमेसन सुरु गरिसकेको उनले सुनाए ।
के छ ई-जोनको भावी योजना ?
नेपाली बजारलाई अटोमेसनको स्वाद चखाउन ई-जोनको भविष्यको योजना समेत रहेको उनले बताए । “नेपाली बजारमा सकेको योगदान गरेर इन्टरनेसनल मार्केटमा जाने योजना छ । केही वर्ष अझै नेपालमा नै योगदान दिन चाहन्छौँ,” उनी भन्छन् ।
ई-जोनलाई अमेरिकामा पनि दर्ता गरेर त्यहाँको बजार लक्षित कामहरू भइरहेको अधिकारीले बताए । तर, हालसम्म कम्पनीको मुख्य आम्दानीको स्रोत भने नेपाल नै रहेको उनी बताउँछन् । “एक पटक हामीले अमेरिकी बजारमा मार्केटिङ गर्ने, सेल्स गर्ने, कोल्ड कल गर्ने काम गरेका थियौँ । त्यसपछि लगत्तै लकडाउन सुरु भयो । अहिले पुनः अन्तर्राष्ट्रिय बजारमा बिस्तारै काम अगाडि बढाउन थालिरहेका छौँ,” उनले भने ।
पछिल्लो पाँच सात वर्षयता ई-जोनमा ३० देखि ३५ जनाले रोजगारी पाइरहेका छन् । हाल आफू कम्पनीको आम्दानीसँग भने सन्तुष्ट नै रहेको उनले बताए ।
नेपाली बजारमा भने अझै पनि सफ्टवेयर कम्पनीको सङ्घर्ष नसकिएको उनी बताउँछन् । अधिकारी गुनासो गर्दै भन्छन्, “स्थानीय प्रोडक्ट पनि कम छैनन् । तर, नेपाली कम्पनी भनेपछि हेपाहा प्रवृत्ति छ । इन्टरनेसनल सफ्टवेयरलाई लाखौँ तिर्न तयार हुनेहरू नेपाली कम्पनीलाई लाख पनि दिँदैनन् ।”
सरकारले पनि आईटी क्षेत्रका कानुन परिमार्जनका लागि अध्यादेश नै ल्याएर यस क्षेत्रमा ध्यान दिन थालेको छ । कानुनी रूपमा सहज भएपछि थप ‘एक्सप्लोर’ गर्ने वातावरण बन्ने उनी बताउँछन् । राम्रो प्रोडक्ट बनाएमा अन्तर्राष्ट्रिय स्तरमा लैजान र विदेशी लगानी भित्र्याउन सहज भएको उनी बताउछन् । “अन्तर्राष्ट्रिय स्तरमा जाने प्रोडक्ट बनाउन भने अझै मेहेनत गर्नु पर्नेछ,” उनी भन्छन् ।
अटोमेसन गर्न कति लाग्छ खर्च ?
अटोमेसन गर्ने संस्था कति ठुलो छ, त्यही अनुसार अटोमेसनमा लाग्ने खर्च निर्धारण हुन्छ । अधिकारीका अनुसार एक हजार विद्यार्थी भएको एउटा विद्यालयलाई पूर्ण रूपमा अटोमेसन गर्ने हो भने सुरुमा सात आठ लाख रुपैयाँ लाग्छ । त्यसपछि हरेक वर्ष करिब पाँच लाख अटोमेसनको लागि छुट्याउनुपर्ने हुन्छ ।
अटोमेसनका लागि तीन पक्ष महत्वपूर्ण हुन्छन्: सफ्टवेयर, भेन्डर र लगानी । गुणस्तरीय सफ्टवेयर, लगानी र भरपर्दो भेन्डर भएमा मात्र अटोमेसनको कामले निरन्तरता पाउन सक्ने उनले बताए । “अटोमेसन भनेको लामो यात्रा हो । यो स्टेबल र रेस्पोन्सिबल यात्रा हो । ससाना प्राविधिक कुराहरूमा ध्यान पुर्याउनु पर्ने हुन्छ । एउटा राम्रो सफ्टवेयर र भेन्डर भएमा यो रमाइलो यात्रा पनि हो,” उनी दाबी गर्दै भन्छन्, “यसका लागि ई-जोन एउटा भरपर्दो गन्तव्य हो ।”