काठमाडौं । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार शपथ ग्रहण गरे । अमेरिकी संसद्को क्यापिटल हिलमा आयोजित शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू, विभिन्न देशबाट आएका अतिथिसँगै प्रविधि क्षेत्रका दिग्गजहरूको उपस्थिति रहेको थियो ।
सुन्दर पिचाई, एलन मस्क, मार्क जुकबर्ग, जेफ बेजोसलगायत ठूला नाम उक्त समारोहमा सरिक थिए । सो अवसरमा खिचिएको एक तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । जहाँ सुन्दर पिचाई र एलन मस्क मोबाइल फोनमा व्यस्त देखिन्छन् । पिचाई आफ्नै कम्पनीको पिक्सेल फोन प्रयोग गरिरहेका थिए भने मस्क आईफोन चलाइरहेका थिए ।
यो तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले रमाइला प्रतिक्रिया दिइरहेका छन् । तस्बिरमा जेफ बेजोसकी हुनेवाली श्रीमती लरेन सान्चेजले मस्क र पिचाईतर्फ हेर्दै केही भनेको जस्तो देखिन्छ । यसलाई लिएर सामाजिक सञ्जालमा रमाइला टिप्पणीहरू भएका छन्।
एक एक्स प्रयोगकर्ता व्यङ्ग्य गर्दै लेख्छन्, “उनी भनिरहेकी छिन्- ‘के तिमीहरू समारोहको समयमा एकैछिन मोबाइल नचलाई बस्न सक्दैनौ ?”
अर्का प्रयोगकर्ताले लेखेका छन्, “एलन मस्क र सुन्दर पिचाईका लागि राष्ट्रपति ट्रम्पभन्दा फोन धेरै महत्त्वपूर्ण छ ।”
त्यस्तै एक प्रयोगकर्ताले “एलन मस्कले फेरि मार्क जुकरबर्गलाई लडाईको लागि चुनौती दिएको हल्ला छ,” भन्दै लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘यी केटाकेटीहरू र तिनका फोनहरू’ भनेर व्यंग्य गरेका छन् ।
यो तस्बिरले सामाजिक सञ्जालमा प्रयोगकर्तालाई रमाइलो गराएको छ भने शपथ ग्रहण समारोहलाई थप रोचक बनाएको छ ।