close

टिकटकबाटै एक वर्षमा तीन अर्ब आम्दानी, यी हुन् सबैभन्दा धेरै कमाउने क्रिएटर

टेकपाना टेकपाना

माघ १३, २०८१ १६:४७

टिकटकबाटै एक वर्षमा तीन अर्ब आम्दानी, यी हुन् सबैभन्दा धेरै कमाउने क्रिएटर

काठमाडौं । सामाजिक सञ्जाललाई सञ्चार र मनोरञ्जनसँगै आम्दानीको माध्यमको रूपमा प्रयोग गर्ने क्रम बढिरहेको छ । यसमध्ये टिकटक लोकप्रिय बन्दैछ । सामान्य व्यक्तिदेखि सेलिब्रिटीहरूसम्म टिकटकमा सक्रिय भई आफ्ना सिर्जनशील भिडिओहरूमार्फत लाखौँ र करोडौँ दर्शकको मन जितिरहेका छन् । यी भिडिओहरूमा नृत्य, हास्य, जीवनशैली, खाना पकाउने तरिका, ट्रेन्डिङ च्यालेन्जजस्ता विविध सामग्री प्रस्तुत हुन्छन् ।

यसैबीच, अमेरिकाको बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२४ मा सबैभन्दा धेरै कमाउने कन्टेन्ट क्रिएटरको सूची तयार पारेको छ । यसमा टिकटकबाट सबैभन्दा धेरै कमाउने कन्टेन्ट क्रिएटरहरू समेत छन्:

चार्ली डी अमेलियो

२० वर्षकी चार्ली डी अमेलियोको टिकटकमा १५ करोड ७० लाख फलोअर छन् । उनले सन् २०२४ मा २३.५० मिलियन डलर (तीन अर्ब १६ करोड रूपैयाँ) कमाएको फोर्ब्स म्यागेजिनले जनाएको छ ।

उनी पहिलोपटक सन् २०२१ मा सबैभन्दा धेरै कमाउने टिकटक क्रिएटर बनेकी थिइन् । त्यसताका उनको उमेर १८ वर्षको थियो । उनी एक डान्सर हुन् । आफ्नो नृत्य कौशल संसारलाई देखाएर उनी पपुलर भएकी हुन् । उनले आफ्नी बहिनी डिक्सीसँग मिलेर 'डी अमेलियो फुटवेयर' नामक आफ्नो जुत्ता कम्पनी सुरु गरेकी छिन् ।

उनी २०२५ सम्ममा टिकटकमा दोस्रो सबैभन्दा धेरै फलोअर पाउने व्यक्ति पनि हुन् ।

खाबी लेम

टिकटकमा १६ करोड २० लाखसहित सबैभन्दा बढी फलोअर रहेका टिकटक क्रिएटर हुन्, खाबी लेम । उनी मिम्स र भाइरल कन्टेन्टलाई छोटो भिडिओमा प्रतिक्रिया दिन्छन् । 'लाइफ ह्याक' भिडिओहरूलाई कुनै शब्दको प्रयोग नगरी मजाक गर्नु उनको विशेषता हो । उनले आफ्नो प्रतिक्रियाबाट अर्बौँ रकम कमाइरहेका छन् ।

सन् २०२४ मा मात्र उनले २० मिलियन डलर (दुई अर्ब ७५ करोड रूपैयाँ) कमाएका छन् । उनले ह्युगो बोस, फोर्टनाइट र सोनी पिक्चर्सजस्ता आकर्षक ब्रान्डसँग पनि सम्झौता गरेका छन् । लेम सन् २०२२ मा 'फोर्ब्स'को ४० अन्डर ४० र 'फोर्ब्स'को ३० अन्डर ३० सूचीमा समावेश भएका थिए ।

डिक्सी डी अमेलियो

पाँच करोड ५० लाख फलोअर रहेकी टिकटक क्रिएटर डिक्सी डी अमेलियो सबैभन्दा धेरै कमाउने टिकटक क्रिएटरको सूचीमा परेकी छिन् । उनले सन् २०२४ मा १४.६० मिलियन डलर (दुई अर्ब रूपैयाँ) कमाएकी छिन् ।

२३ वर्षीया डिक्सी चार्लीकी दिदी हुन् । यी दिदी-बहिनीले एउटै समयमा टिकटकमा प्रसिद्धि कमाए । दिदी-बहिनी मिलेर सुरु गरेको 'फुटवेयर' बिजनेसबाहेक उनले विभिन्न ब्रान्डसँग सम्झौता पनि गरेकी छिन् । उनीसँग चोपर्ड, फेरागामो, लुई भितन, भ्यालेन्टिनो जस्ता ब्रान्डहरूसँग साझेदारी गरेकी छिन् । उनी एक गायिका पनि हुन् र उनको 'बी हैप्पी' बोलको गीतलाई स्पोटिफाईमा १० करोडभन्दा बढी पटक सुनिएका छन् । उनले आफ्नी बहिनीसँग "चार्ली भर्सेस डिक्सी" शीर्षकको स्नापच्याट शृङ्खला र हुलु रियालिटी-टिभी शृङ्खला, "द डी'अमेलियो शो" मा पनि अभिनय गर्छिन् ।

नारा स्मिथ

नारा स्मिथले आफ्नो खाना पकाउने र जीवनशैलीका भिडिओहरू टिकटकमा राखेर एक करोड १० लाखभन्दा धेरै फलोअर कमाएकी छिन् । उनले गत वर्ष टिकटकबाट ६.५ मिलियन डलर (८९ करोड ९४ लाख रूपैयाँ) कमाएको फोर्ब्स म्यागेजिनले जनाएको छ । नारा खाना बनाउँदा सुपर ग्ल्यामरस लुगा लगाउनका लागि परिचित छिन् । उनी केल्भिन क्लेन, अलो र मार्क जेकब्स जस्ता स्टाइलिस ब्रान्ड पार्टनरहरूसँग पनि जोडिएकी छिन् ।

जेक शेन

३० लाख बढी फलोअर रहेका जेकले गत वर्ष ६ मिलियन डलर (८२ करोड ६० लाख रूपैयाँ) कमाएका छन् । २५ वर्षीय जेक शेन पहिलोपटक २०२३ मा ऐतिहासिक घटनाहरू सुनाएर भाइरल भए । उनले 'थेरापस' भनिने पडकास्ट चलाएका छन् ।

जोर्डन द स्टेलियन

जोर्डन होलेटले पहिलोपटक २०२० मा टिकटकमा चिपोट्ल, ट्याको बेल र म्याकडनल्डमा पाइने फास्ट-फुडका रेसिपीहरू शेयर गरेर भाइरल भएका थिए । हाल उनको टिकटकमा एक करोड ३० लाखभन्दा बढी फलोअर छन् । उनी प्रायः सोसल मिडियाको ट्रेन्डी विषयहरूको बारेमा आफ्ना विचारहरू पोस्ट गर्दछन् । उनको गत वर्षको कमाइ ४.५ मिलियन डलर (६१ करोड ९५ लाख रूपैयाँ) छ ।

एडिसन राय ईस्टरलिंग

२४ वर्षीय एडिसन राय ईस्टरलिंगलाई टिकटकको 'इट गर्ल' भनेर चिनिन्छ । सन् २०१८ मा उनले ट्रेन्डिङ गीतहरूमा डान्स गरेका भिडिओहरू अपलोड गरेर भाइरल भएकी थिइन् । उनले छिट्टै १० लाखभन्दा बढी फलोअर्स पुरा गरेकी थिइन् । हाल उनलाई टिकटकमा ८ करोड ८० लाख बढीले फलो गर्छन् । उनले आफ्नै पडकास्ट सुरु गरेकी छिन् । आफ्नै गीत बजारमा ल्याउने, कस्मेटिक्स सामग्रीको ब्रान्ड पनि उनले बनाएकी छिन् । उनले रिबोक, एल ओरिअर, होलिस्टरजस्ता ब्रान्डसँग पनि सम्झौता गरिसकेकी छिन् ।

ड्र्यू अफुआलो

इन्टरनेट ट्रोल र अफवाहविरुद्ध जवाफ फर्काउँदै बनाएको टिकटक भिडिओका कारण चर्चा कमाएकी ड्र्यूका ८० लाख बढी फलोअर छन् । उनले गत वर्ष मात्र टिकटकबाट २.१ मिलियन डलर (२० करोड ९१ लाख रूपैयाँ) कमाएकी छिन् ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८१ १९:२२