close

युट्युबर आइशोस्पीड बने एक घण्टाका लागि लिमाको मेयर, प्रहरीले दियो सुरक्षा

टेकपाना टेकपाना

माघ १७, २०८१ १३:१

युट्युबर आइशोस्पीड बने एक घण्टाका लागि लिमाको मेयर, प्रहरीले दियो सुरक्षा

काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं एउटा सहरमा पर्यटकका रूपमा जानुहुन्छ र अचानक त्यहाँ तपाईँलाई मेयर घोषणा गरिन्छ ! पागलपन लाग्छ, होइन ? तर अमेरिकी युट्युबर आइशोस्पीडका लागि यो कुनै सपना होइन, वास्तविकता बन्यो !

२८ जनवरी २०२५, पेरुको राजधानी लिमा । युट्युबमा अनौठा स्टन्ट र ऊर्जावान प्रस्तुतिका लागि चर्चित ड्यारेन 'आइशोस्पीड' यहाँ पुग्दा माहौल नै फेरियो । लिमाका मेयर राफेल लोपेज अलिगाले उनलाई सहरको ४९० औं वार्षिकोत्सवमा विशेष अतिथिको रूपमा निमन्त्रणा मात्र दिएनन्, उनलाई एक घण्टाका लागि मेयर नै बनाए ।

वास्तविक ट्विस्ट त तब आयो, जब आइशोस्पीडलाई मोटरसाइकल गार्डको घेरामा सहर परिक्रमा गराइयो । उनलाई देख्नका लागि हजारौं समर्थक सडकमा उर्लिए, जसका कारण स्थिति सम्हाल्न प्रहरी दंगा नियन्त्रण मोडमा गयो ।

विशेष समारोहमा आइशोस्पीडलाई लिमाको राजदूत पुरस्कार प्रदान गरियो । त्यसपछि जब उनलाई औपचारिक रूपमा एक घण्टाको लागि मेयर घोषणा गरियो, उनी दङ्ग परे । कागजात हात पार्दा अचम्म मान्दै भने, ​​“म मेयर हो ? म मेयर हुँ !”

जब मेयर अलिगाले यो एक घण्टाको लागि मात्रै हो भने, आइशोस्पीड झन् हौसिएर ठट्टा गर्दै बोले, “एक घण्टा मात्रै ? दुई घण्टा बनाउनुहोस्, म दुई घण्टाको लागि मेयर हुनेछु !“

यो सबै केवल रमाइलो स्टन्ट मात्र थिएन । सोही दिन आइशोस्पीडको नाम विकिपिडियामा लिमाका मेयरहरूको सूचीमा थपियो, जसले सामाजिक सञ्जालमा अझै ठूलो सनसनी ल्यायो ।

उनको लाइभ भिडिओ युट्युबमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष हेरे । यस घटनापछि उनको च्यानलमा लाखौं नयाँ सब्सक्राइबर थपिए ।

आइशोस्पीड यस महिनाभर दक्षिण अमेरिकी ९ देशको भ्रमण गर्ने योजनामा छन् । पेरुमा उनको कार्यक्रम सुपरहिट रह्यो, अब हेर्न बाँकी छ- अर्को कुन देशमा उनी 'एक घण्टाको राष्ट्रपति' बन्छन् !

 

पछिल्लो अध्यावधिक: माघ १७, २०८१ १३:९