close

प्रधानमन्त्रीको दाबीः नागरिक एपबाटै पाइन्छ ५० भन्दा बढी सरकारी सेवा

टेकपाना टेकपाना

माघ १८, २०८१ १४:१०

प्रधानमन्त्रीको दाबीः नागरिक एपबाटै पाइन्छ ५० भन्दा बढी सरकारी सेवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सेवाग्राहीले ५० भन्दा बढी सेवा पाइरहेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले उल्लेख्य प्रगति गरेको भन्दै यसबाट मासिक लाखौं सेवाग्राहीले सेवा पाएको दाबी गरे । 

उनले नागरिक एपले सरकारी सेवालाई झन्झट रहित र पारदर्शी बनाएको बताए । “यसमा ५० भन्दा बढी सेवा आबद्ध छन्,” ओलीले भने, “नागरिक एप अहिले नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ । हालसम्म ५७ लाख २६ हजार जनताले यसलाई डाउनलोड गरिसकेका छन् ।” गुगल प्ले स्टोरमा पछिल्लो समय धेरै डाउनलोड हुने एपमा नागरिक एप परेको छ । प्ले स्टोरको टप चार्ट अनुसार निःशुल्क एपमध्ये नागरिक एप छैटौँ स्थानमा छ । 

केही वर्षअघि क्यूआर स्क्यान गरी भुक्तानी थाल्दा हाम्रो भुक्तानी प्रणालीमा क्रान्ति नै आएको जस्तै अहिले नागरिक एपबाट क्यूआर कोड स्क्यान गरेर बैंक खाता खोल्ने र सरकारी सेवा प्राप्त गर्ने सुविधा मिल्दा यसबाट लाइन होइन अनलाइन सेवाको नक्सा पूरा हुन लागेको प्रधानमन्त्रीले उल्लेख गरे । 

प्रधानमन्त्री ओलीका अनुसार नागरिक एपबाट हालसम्म एक लाख ८० हजारभन्दा बढीले प्यान नम्बर लिएका छन् । त्यस्तै फिचर लागू भएको दुई हप्तामै ढाई लाख बढीले नागरिक एपमा राष्ट्रिय परिचयपत्र जोडेको उल्लेख गरे ।

“यस एपमार्फत हामीले सवारी लाइसेन्स लिन सवारी नियम उल्लङ्घनको जरिवाना तिर्न भइरहेको झन्झट हटाएका छौं,” प्रधानमन्त्री ओलीले भने, “सवारी लाइसेन्स नागरिक एपमा आवद्ध भए सँगैसवारी चालक अनुमति पत्रको फिजिकल कार्ड नै नचाहिने बताइएको छ । एक दिनमा ५५ हजार देखि ६० हजार सम्मले यस सम्बन्धी छरितो सेवा लिइरहेका छन् ।”

सवारी नियम उल्लङ्घन हुँदा ठाउँका ठाउँ अनलाइनबाट जरिवाना तिर्ने व्यवस्थाले गर्दा सेवाग्राही र ट्राफिक प्रहरी दङ्ग पर्ने गरेको उनले उल्लेख गरे । उनले अगाडि भने, “हेर्दा सानो कुरा देशको प्रमुख प्रशासकीय थलो सिंहदरबार छिर्न भित्रबाट अनुमति लिनुपर्ने र सिंहदरबार छिर्न लाइन बस्नु पर्ने झन्झट थियो । अहिले सिंहदरबार छिर्न कसैसँग अनुमति लिनु पर्दैन । सरकारी परिचयपत्रको क्यूआर स्क्यान गरेर भित्र छिर्न पाइन्छ ।”

सरकारी काममा नागरिक एपको प्रयोगलाई विस्तार गर्दै सरकारले केही समयभित्र सार्वजनिक सेवाका क्षेत्रमा क्रान्ति ल्याउन सक्ने विश्वास भएको उनले बताए । त्यसैगरी सरकारी कार्यालयमा कामको फाइलहरू अड्काउने कामको समयावधि लम्ब्याउने र यसबाट सेवाग्राहीले दु:ख पाउने स्थितिबाट मुक्त गर्न क्यूआर कोडमार्फत फाइल मुभमेन्ट ट्रयाकिङ गर्ने प्रणालीलाई अगाडि बढाएका उनले उल्लेख गरे ।

“त्यसलाई हामी पूर्ण रुपमा गराइरहेका छौं । सरकारी कार्यालयमा हुने कामको जानकारी मोबाइलबाटै पाउने व्यवस्था मिलाउँदै छौं । जहिले काम भइरहेको हुने, तर कहिल्यै नसकिने हाम्रो विकास निर्माण र कानुन निर्माणको ढाँचामा यसरी ब्रेक लगाउँदैछौं,” प्रधानमन्त्री ओलीले भने ।

पछिल्लो अध्यावधिक: माघ १८, २०८१ १५:१४