close

आखिर सामाजिक सञ्जालमा किन भाइरल भइरहेको छ ‘अमला काण्ड’ ?

टेकपाना टेकपाना

माघ १८, २०८१ १५:५८

आखिर सामाजिक सञ्जालमा किन भाइरल भइरहेको छ ‘अमला काण्ड’ ?

काठमाडौं । सामाजिक सञ्जालमा केही दिनदेखि ‘अमला काण्ड’ भन्दै थुप्रै मिम र भिडिओहरू भाइरल भइरहेका छन् । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा कमेन्टदेखि विभिन्न स्टाटसमा अमलाको चर्चा चलेको छ ।

केही मिम सामग्रीमा पत्रकार ऋषि धमलाको फोटो, ‘के खान्छौ कमला’ गीतको छोटो क्लिप, र एक वृद्ध व्यक्तिको फोटो राखिएको छ । अमला काण्डको यही चर्चा झापाको एक घटनामा गएर जोडिएको छ । जहाँ २१ वर्षीय अविवाहित युवतीले केही दिनअघि एक सन्तानलाई जन्म दिइन् । ती युवतीलाई करकाप गरेपछि बच्चाको बुबा गाउँकै एक ७९ वर्षीय वृद्ध रहेको बताइन् ।

सो घटनालाई थप खुलाउने भन्दै युट्युबरहरू युवतीको गाउँमा नै पुगेका छन् । यसपछि युवती, शिशु र आरोपी वृद्धको तस्बिर, अन्तर्वार्ताको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

युवतीका बुबाले अन्तर्वार्तामा भने अनुसार युवती विगत लामो समयदेखि मानसिक रूपमा अस्वस्थ थिइन् । “जहाँ पायो त्यहीँ जाने गर्थी । दिनभरि ज्याला मजदुरी गरेपछि साँझमा छोरीलाई खोज्न निस्किनुपर्थ्यो,” युवतीका बुवाले एक अन्तर्वार्तामा भनेका छन् ।

अहिले भने नियमित औषधि खुवाएकाले छोरी होसमा रहेको उनी बताउँछन् । भएको एउटा छोरो सुधार केन्द्रमा रहेको र छोरी मानसिक रूपमा अस्वस्थ भएका कारण श्रीमान्, श्रीमती मिलेर ज्याला मजदुरी गरेर घर चलाउँदै आएको उनले सुनाएका छन् । बुबाको पहिचान दिन नसक्दा नवजात शिशुको न्वारान गर्न नसकेको उनी बताउँछन् ।

यता युवतीले आरोप लगाएका वृद्ध भने आफूले करिब ५० वर्ष पहिले नै ‘परिवार नियोजन’ गरिसकेकाले आफू बुबा बन्न नसक्ने भन्दै अस्वीकार गर्छन् । युवतीको घरको बाटोबाट हिँड्ने गरेको स्वीकार गरेपनि नवजात शिशुको बुबा आफू नरहेको उनले बताउने गरेका छन् ।

अन्तर्वार्ताकै क्रममा युवतीका आफन्तले ती वृद्ध अमला लिएर आउने र युवतीलाई दिएर फकाउने गरेको बताउँछन् । युवतीले पनि एक भिडिओमा भनेकी छिन्, “अमला खाने, अमला खाने ? कति पैसा चाहियो भन्नुहुन्थ्यो ।”

त्यही कुरा वृद्धलाई सोध्दा उनले भनेका छन्, “अमला त बोटमा हुन्छन् । त्यहाँ (युवतीको घर) पुर्‍याएको होइन । त्यतिकै आरोप लगाएको मात्रै हो ।” आफू युवतीको घरतिरको बाटोबाट हिँडिरहने भएकाले आरोप लगाएको हुनसक्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा देखाइएको रमिता

सामाजिक सञ्जालमा अमलाको तेलको बोतलमा आरोपी वृद्धको फोटो राखेर भाइरल बनाउने काम भएका छन् । कतिपयले शिशुको वृद्धसँगको फोटोलाई तुलना गर्दै ‘अनुहार मिलेछ’ भन्दै राखिरहेका छन् ।

युवतीका बुबाले युट्युबमा अन्तर्वार्ता दिने क्रममा भनेका छन्, “एकदिन साँझ मैले उनलाई छोरीको खाट नजिकै देखेको थिएँ । ‘उनले अमला खान्छौ, केही पैसा चाहिन्छ ?’ भनिराखेको सुनेँ ।”

यस्तै “अमला काण्ड” भन्दै यसको सत्यता खोल्न गएका युट्युबरहरू युवतीलाई प्रश्न गर्छन्, “शारीरिक सम्बन्ध कहाँ भयो ? अरूसँग शारीरिक सम्बन्ध राख्नु भयो ? तपाईँ कन्फर्म हुनुहुन्छ ? तपाईँको स्वास्थ्य ठीक त छ नि ? भोलि गएर आफ्नो बोली त परिवर्तन गर्नुहुँदैन नि ?”

आफ्नो बुबाको वाक्यलाई दोहोर्याउँदै युवतीले अमला खान्छौ भन्दै आफूसँग नजिकिएको हरेक अन्तर्वार्तामा सोही जवाफ फर्काउँछिन् । मधुर आवाजमा आफू ठीक रहेको र भनाइ परिवर्तन नगर्ने जवाफ दिन्छिन् ।

युवतीका बुबाका अनुसार औषधि नियमित सेवन नगरे अहिले पनि युवतीको होस रहँदैन । उनी भन्छन्,”करकाप गरेर भएपनि औषधि खुवाउने गरेका छौँ ।”

अर्थात् गर्भ रहेको समयमा युवतीको मानसिक स्वास्थ्य पूर्ण रूपमा स्वस्थ थिएन । युवती अहिले पनि औषधि सेवन गरिरहेकी छिन् ।

करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा २ (ख) ले होस ठेगानमा नरहेको बेलामा यौन सम्बन्धका लागि लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने अर्थात् जबरजस्ती करणी मानिने उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा फैलिएको 'अमला काण्ड'लाई लिएर विभिन्न किसिमका आलोचनात्मक र संवेदनाहीन बहस पनि भइरहेका छन् । सामाजिक सञ्जालका मिम र भिडिओहरूले पीडित महिलाको अपमान गरेको, मानसिक अस्वस्थताबाट पीडित युवतीलाई मजाकको विषय बनाइएको, निम्नस्तरीय मनोरञ्जन र मानवीय मूल्यहरूलाई नकारात्मक ढंगले प्रस्तुत गरिएको टिप्पणी हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०८१ १६:२१