close

+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै

टेकपाना टेकपाना

जेठ १९, २०८२ १२:३३

+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै तालिम प्रदायक संस्था ‘प्रशिक्षण’ले आगामी जुन ४ देखि सुरु हुने ‘करियर कन्क्लेभ २०२५’ मा निःशुल्क आईटी तालिम प्रदान गर्ने भएको छ ।

टेकस्पायर कलेजसँगको सहकार्यमा एक हप्तासम्म चल्ने उक्त तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, प्रोग्रामिङ (आधारभूतदेखि मध्यम तहसम्म), इन्टरनेट अफ थिङ्स (आईओटी), वेबसाइट डेभलपमेन्ट तथा गेम डेभलपमेन्टलगायतका विषयमा सहभागीलाई तालिम प्रदान गर्न लागिएको हो ।

विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा करियर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष एवं टेकस्पायर कलेजका प्रिन्सिपल लक्ष्मण पोखरेलले जानकारी दिए । 

तालिममा सहभागीहरूले उद्योगमै कार्यरत विज्ञ प्रशिक्षकबाट कक्षा लिने, व्यवहारिक अभ्यास गर्ने, परियोजना निर्माणमा संलग्न हुने र तालिम पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

सीमित सिट मात्र उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । तालिम बानेश्वरस्थित टेकस्पायर कलेज र कुपण्डोलस्थित प्रशिक्षणको कार्यालयमा हुनेछ । इच्छुकले आफूलाई पायक ठाउँ छानी यो लिङ्कमा गई गुगल फर्म भर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १५:१