close

अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्‍याउनु पर्ने बाध्यता हटाउन सरकारले ल्यायो ईएमआर

टेकपाना टेकपाना

माघ २१, २०८१ २१:२५

अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्‍याउनु पर्ने बाध्यता हटाउन सरकारले ल्यायो ईएमआर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सम्बन्धी एकीकृत प्रणालीको रूपमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली लागु गर्ने भएको छ । विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली मार्फत विरामीहरूको अनलाइन मार्फत स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराइने छ । 

र, अन्य स्वास्थ्य संस्थामा जाँदा पनि सोही प्रणालीमा भएका तथ्याङ्क देखाउन सकिने व्यवस्था गरिएको छ । यस्तै स्वास्थ्य उपचारपछि शुल्क बुझाउन पनि सोही प्रणाली प्रयोग गर्नुपर्ने उल्लेख छ । 

यस प्रणालीका लागि एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ जारी गरिएको छ । निर्देशिका अनुसार ईएमआर प्रणालीमा हरेक स्वास्थ्य संस्था समावेश हुनुपर्छ । 

स्वास्थ्य संस्थाका कर्मचारीहरू प्रणालीमा सुपर एड्मिन, एड्मिन, आधारभूत प्रयोगकर्ता आदि जिम्मेवारीमा रहन्छन् । सुपर एड्मिनले संस्थाको प्रणालीको नेतृत्व गर्छन् भने एड्मिनले प्रणालीमा अन्य प्रयोगकर्ताहरू राख्ने, हटाउने काम गर्छन् । 

स्वास्थ्य संस्थाका विभाग, शाखा, एकाइमा रहेर काम गर्ने कर्मचारी, बिरामीको स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मी आधारभूत प्रयोगकर्ताको रूपमा रहन्छन्  । 

उनीहरूका लागि छुट्‍टाछुट्‍टै युजर आईडी उपलब्ध गराइनेछ।  यसलाई सही तरिकाले सञ्चालन गर्ने, प्रणालीमा भाइरस, मालवेयर, स्पाइवेयर पस्न नदिने जिम्मेवारी प्रयोगकर्ताको हुनेछ । यस्तै ईएमआर प्रणालीबाट स्वास्थ्य संस्थामा उपचार वा सेवा लिन आएका व्यक्तिहरूलाई उक्त संस्थाले स्वास्थ्य पहिचान नम्बर (हेल्थ आईडी) उपलब्ध गराउनेछन् ।

यसका लागि स्वास्थ्य संस्थाले सेवाग्राहीको राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता नम्बर वा मतदाता परिचयपत्र वा सवारी चालक परिचयपत्र वा ज्येष्ठ नागरिक परिचयपत्र लगायतका परिचय खुल्ने कागजात लिएपछि मात्र प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । यसरी बिरामीले पाएको स्वास्थ्य पहिचान नम्बर प्रयोग गरेर स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, अनलाइन वा नगद तिरेर बिल भुक्तानी गर्न सकिने छ । यस्ता सबै विवरण प्रणालीमा सुरक्षित रहने बताइएको छ । 

यस्तै बिरामीको पहिचान नम्बरमा नै रोगको निदान, ल्याब रिपोर्ट, उपचार विधि, रेडियोलोजीमा प्रयोग गरिने विवरण, डिस्चार्ज आदि विवरण समावेश गर्नुपर्ने हुन्छ । यस्ता विवरण बिरामीले जुन स्वास्थ्य संस्थामा उपचार गरेको हो, त्यहाँ गएर आफ्नो स्वास्थ्य विवरण माग्न सक्नेछन् । यी विवरण एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा समेत पठाउन सकिनेछ । 

जसका कारण एक ठाउँबाट थप उपचारका लागि अर्को ठाउँमा रेफर हुँदा पुन: पुरानै किसिमको स्वास्थ्य परीक्षण गर्नुपर्ने समस्याबाट समाधान मिल्ने बताइएको छ । पुराना विवरण प्रणालीमा नै उपलब्ध हुने भएकाले अन्य अस्पताल वा स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा स्वास्थ्य परीक्षणका प्रक्रिया नदोहोर्‍याई निरन्तरता दिन सकिनेछ । 

यस्तै सेवाग्राहीको पहुँचमा यस्ता स्वास्थ्य विवरणको पहुँच पुर्‍याउनका लागि सेवाग्राही (पेसेन्ट) पोर्टलको विकास गर्ने जनाइएको छ । यस्तै सेवाग्राहीको स्वास्थ्य विवरणसम्बन्धी तथ्याङ्कको सुरक्षाको जिम्मेवारी सम्बन्धित स्वास्थ्य संस्थाको रहने उल्लेख छ ।

यस प्रणालीको स्थापना र संस्थागत व्यवस्थापनका लागि निर्देशक समिति र प्राविधिक कार्य समितिको परिकल्पना गरिएको छ । त्यस्तै प्रदेशमा यसको सञ्चालनका लागि प्रादेशिक समन्वय समिति र स्थानीय स्तरका लागि स्थानीय तह कार्य समितिको व्यवस्था निर्देशिकामा छ । 

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ २१:२५