सुर्खेत । कर्णाली प्रदेशका दुई जिल्लामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवाको पहुँच अझै विस्तार हुन सकेको छैन । कर्णालीका १० जिल्लामध्ये हुम्ला र मुगुबाहेक अन्य सबै जिल्लामा एनटी फाइबर इन्टरनेट सेवा उपलब्ध छ ।
नेपाल टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश निर्देशनालयले हुम्ला र मुगुमा अझै फाइबर इन्टरनेट सेवा पुग्न बाँकी रहेको जानकारी दिएको हो ।
नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका उप-प्रबन्धक मधुसूदन दाहालका अनुसार ती दुई जिल्लामा फाइबर सेवा पुर्याउनका लागि काम भइरहेको छ । "हुम्लामा फाइबर विस्तार गर्नका लागि कालिकोटदेखि हुम्लासम्मको अध्ययन पूरा भइसकेको छ । एक वर्षभित्र सेवा उपलब्ध गराउने योजना छ," उनले भने, "मुगुमा भने अबको एक–दुई महिनामा नै फाइबर सेवा पुर्याउने तयारी छ ।"
त्यसैगरी, कर्णालीका सात स्थानीय तहमा अझै नेपाल टेलिकमको फोरजी सेवा विस्तार हुन सकेको छैन । उप–प्रबन्धक दाहालका अनुसार डोल्पाका तीन र हुम्लाका चार स्थानीय तहमा फोरजी सेवा उपलब्ध छैन । नेपाल टेलिकमले आगामी दिनमा फाइबर इन्टरनेट सबै जिल्लाका वडासम्म पुर्याउने लक्ष्य लिएको छ ।
हाल कर्णाली प्रदेशभर नेपाल टेलिकमका २८१ टावर सञ्चालनमा छन् । तर, विद्युत अभाव र भौगोलिक विकटताका कारण सबै स्थानमा सेवा सुचारु गर्न चुनौती रहेको नेपाल टेलिकमका कर्णाली प्रदेश निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले बताए । "विद्युत अभावका कारण केही टावर राति बन्द हुन्छन् भने दिनमा मात्रै सञ्चालनमा रहन्छन्," उनले जानकारी दिए ।