काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स पढाउने भएको छ । विश्वविद्यालयले आगामी मे महिनादेखि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्सको कक्षा सुरु गर्न लागेको हो ।
यसका लागि विश्वविद्यालयले अनलाइन आवेदन खुलाएको छ । यहाँ क्लिक गरेर आगामी २० फेब्रुअरीसम्म आवेदन दिन सकिने छ । प्रवेश परीक्षा २ मार्च र अन्तर्वार्ता ३ मार्चमा लिइनेछ भने पढाइ १६ मेदेखि सुरु हुनेछ ।
विज्ञान, इन्जिनियरिङ, प्रविधि वा सम्बन्धित क्षेत्रमा चार वर्षे स्नातक पास गरेका विद्यार्थी यस शैक्षिक कार्यक्रमका लागि योग्य हुनेछन् । यसका लागि स्नातकमा कम्तीमा २.७५ सीजीपीए ल्याउनुपर्ने छ ।
आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स विषयमा १६/१६ जनाको कोटा तोकिएको छ । शैक्षिक कार्यक्रममा भर्ना हुने प्रत्येक विद्यार्थीलाई केही न केही छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
स्नातकोत्तर तह पूरा गर्न तीन लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसमा पनि भर्ना भएका विद्यार्थीले २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति पाउन सक्नेछन् ।
मदन भण्डारी विश्वविद्यालय अनुसन्धान-आधारित शिक्षण पद्धतिमा केन्द्रित रहेको यस विश्वविद्यालयका अध्यापकसमेत रहेका सूचना प्रविधिविज्ञ डा. राजिव सुब्बाले बताए । उनका अनुसार विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अध्ययनसँगै व्यवहारिक अनुसन्धान गर्ने अवसर पाउनेछन् ।
व्यवहारिक अनुसन्धानलाई प्राथमिकता दिँदा विद्यार्थीले वास्तविक समस्याहरू छिटो समाधान गर्नसक्ने उनको भनाइ छ ।
मकवानपुरको चित्लाङमा रहेको विश्वविद्यालय परिसरमा यस शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ । “चित्लाङ प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो । विद्यार्थीहरूले हिमालको दृश्य, हरियाली जंगल, तथा स्वच्छ हावापानीको अनुभव लिँदै कक्षा लिन सक्नेछन् ।”
विश्वविद्यालयले निकट भविष्यमा पीएचडी कार्यक्रम सञ्चालन गर्ने योजना ल्याएको छ । यस्तै, स्नातक तहमा कम्प्युटर साइन्स तथा साइबर सेक्युरिटीसँग सम्बन्धित नयाँ कार्यक्रमहरू ल्याउने तयारी गरिएको छ ।