१२८ जीबी स्टोरेज, ८ जीबी र्याम । अपरेटिङ सिस्टम एन्ड्रोइड १३ । एआई ट्रिपल क्यामेरा । ५००० एमएएच क्षमताको क्षमताको ब्याट्री । १८ वाटको फास्ट चार्जिङ । युवादेखि लिएर बुढापाका सबैका लागि एकदमै उपयुक्त यो बजेटमैत्री फोन, बेन्को भी९१ । यसको मूल्य रहेको छ, जम्मा १४ हजार ३९९ रुपैयाँ । यस सामग्रीमा बेन्को भी९१ कस्तो छ, मैले चलाएको आधारमा मूल्य अनुसार यसका कमजोरी र राम्रो पक्ष के छन् त्यो बताउँदै छु ।
कुरा सुरु गरौं, बेन्को भी९१ को लुक्सबाट । मैले पल ग्रीन कलरको फोन चलाएँ । तपाईँले मिडनाइट ब्ल्याकमा पनि यो फोन पाउन सक्नुहुन्छ । साइडमा थोरै कर्भ्ड भएपनि बाँकी फ्रेम प्ल्याट खालको छ । प्रिमियम ग्लोसी खालको प्लास्टिक प्रयोग भएको ब्याक प्यानलको इन ह्यान्ड फिल नै गजबको छ । मोबाइल छामेको भरमा प्राइस गेस गर्न गाह्रै पर्छ ।
फोनको मोटाइ ठिक्क खालको भएर प्लस, एज पनि अलिकति कर्भ्ड भएर ग्लोसी भएपनि फोन बोक्दा चिप्लिने डर भने छैन । हातको दागहरू पनि खासै बस्दैन, यदि बसि हाले पनि सजिलैसँग सफा गर्न सकिन्छ । क्यामेरा बम्प भने गोलो र ठूलो नै छ, त्यसमा तीन ओटा क्यामेरा सेटअप पाउन सकिन्छ ।
क्यामेरा बम्पले गर्दा फोन कभर बिना प्रयोग गर्दा भने कोरिने सम्भावना हुन्छ । त्यसैले फोन कभरसहित प्रयोग गर्नुहोला । फोनको दायाँ साइडमा भोल्युम अप डाउन बटन, फिङ्गरप्रिन्ट सेन्सरयुक्त पावर बटन छ भने बायाँ साइडमा एउटा माइक्रो एसडी कार्डसँगै दुई ओटा सिम कार्ड राख्न मिल्ने स्लट पाउन सकिन्छ ।
त्यस्तै तलपट्टि टाइप सी पोर्ट र एउटा स्पिकर पाउन सकिन्छ भने माथि ३.५ एमएमको अडिओ ज्याक पोर्ट छ, जसबाट तपाईँले रेडियो अथवा म्युजिक सुनेर आन्नद लिन सक्नुहुन्छ ।
फोनको अगाडि टियर ड्रप नच देख्न सकिन्छ, जहाँ सेल्फीको लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
फोनमा ६.५६ इन्चको ९० हर्जसम्मको रिप्रेस रेट भएको आईपीएस एलसीडी डिस्प्ले छ, जसमा एचडी प्लसको रेजोलसुसन पाउन सकिन्छ । डिस्प्लेको साइडमा कम र तल अलिकति बेजल्स देख्न सकिन्छ । तर यसले भिडिओ हेर्ने अनुभवलाई नमजा भने दिँदैन । यो बजेटको स्मार्ट फोनमा आईपीएस एलसीडी डिस्प्ले हुनु पनि राम्रै कुरा हो ।
अब कुरा गरौं, फोनको फोनको अपरेटिङ सिस्टम र पर्फर्मेन्सको । यो फोन एन्ड्रोइड १३ मा आधारित छ । त्यसैले गर्दा एन्ड्रोइड १३ मा उपलब्ध फिचर र सुरक्षा हामीले यो फोनमा पाउन सक्छौं । फोनमा UNISOC T606 Octa Core प्रोसेसर राखिएको छ । यसलाई इन्ट्री लेभलको नै प्रोसेसर मानिन्छ । जुन सन् २०२१ को मध्यतिर सार्वजनिक भएको चिपसेट हो । यो चिपसेट अलि पुरानो भए पनि बजेट फोनका लागि यसलाई पर्याप्त नै मान्न सकिन्छ ।
फोनमा सामान्य सोसल मिडिया एप चलाउन, दैनिक काम गर्न समस्या भने हुँदैन । खुसीको कुरा के भने यसमा ८ जीबी र्याम छ । साथमा थप ८ जीबी भर्चुअल र्याम बढाउन मिल्ने सुविधा पनि दिइएको छ । यसले गर्दा पब्जी, फ्री फायर जस्ता गेमहरू पनि यसमा ठिकठाक चल्छ । तर हेभी गेम भएर होला मैले पब्जी खेल्दै गर्दा कहिलेकाहीँ मोबाइल ह्याङ पनि भएको थियो । अन्य सामान्य गेम खेल्न र एप्लिकेसन चाहिँ यसमा मजाले चल्छ ।
मैले मल्टिपल एप्लिकेसन लोड गर्दा पनि ह्याङ हुने समस्या भने देखिएको थिएन । त्यसैले मूल्य अनुसार यत्तिको पर्फर्मेन्सलाई ठीकठाक नै मान्न सकिन्छ । साथै फोनमा पाइने १२८ जीबी स्टोरेज पनि यो बजेट फोनको लागि राम्रो मान्नुपर्छ । साथै यो फोनले ५ गिगाहर्ज वाईफाई पनि सपोर्ट गर्छ, जसले गर्दा हामी फास्ट इन्टरनेट पनि चलाउन पाउने भयौँ ।
अब कुरा गरौँ, फोनको क्यामेराको । फोनको मुख्य क्यामेरा १३ एमपीको रहेको छ, क्यामेरा भने यसमा तपाईँले बजेट अनुसारको नै पाउन सक्नुहुन्छ । यसबाट खिचेका फोटोहरू भने ठीकै मात्र आउने रहेछ । हुन त १५ हजारको फोनमा खत्रा क्यामेरा मैले अपेक्षा पनि गरिनँ । लाइट राम्रो भएको ठाँउमा फोटो खिच्ने हो भने फोटो राम्रै आउँछ । तर राति खिचेको फोटोमा भने न्वाइजहरू मजाले भिजिबल छ । त्यस्तै फोनमा २ एमपीको म्याक्रो क्यामेरा दिइएको छ, जसले भने ठीकै मात्र काम गर्यो । साथै एउटा एआई क्यामेरा भनेर पनि उपलब्ध गराइएको छ ।
फोनको मुख्य क्यामेराबाट विभिन्न फिल्टर प्रयोग गरेर फोटो खिच्न सकिन्छ । साथै प्रो मोडबाट खिच्ने हो भने आईएसओ घटाउने बढाउने, ब्लर गर्ने आदि फिचरहरू पाउन सकिन्छ । त्यस्तै फोनबाट ३० एफपीएसमा १०८०पी सम्मको भिडिओ खिच्न सकिन्छ । सस्तो फोनबाट धेरै स्तरीय भिडिओको मैले अपेक्षा नै नगरेको हुनाले यसको भिडिओ क्वालिटीमा खासै कमेन्ट गरिरहनु पर्छ जस्तो लागेन ।
सेल्फीको लागि ८ एमपीको एआई क्यमेरा दिइएको छ । सेल्फी खिच्दा ब्युटी मोड अन गरेर पनि खिच्न सकिन्छ । यसबाट फोटोलाई स्मुथ गर्ने, ब्राइट गर्ने, टोन मिलाउने आदि गर्न सकिन्छ । यसबाट खिचेको पोर्टेट सेल्फी पनि मलाई राम्रो नै लाग्यो । तपाईँले यो फोनबाट खिचेका सेल्फीहरू स्क्रिनमा देख्न सक्नुहुन्छ । यसबाट एकदमै राम्रो फोटो र भिडिओको अपेक्षा गर्न सकिँदैन । तर सोसल मिडियाहरूमा पोस्ट गर्नका लागि ठीकठाक फोटोहरू यसले खिच्छ । साथै सामान्य भिडिओ कल गर्न, अनलाइन क्लास, जुम सेसनहरूमा सहभागी हुन पनि यो बजेट फोन उत्तिकै उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।
मलाई यो फोनको अर्को राम्रो लागेको पक्ष हो ब्याट्री । १५ हजारको फोनमा ५००० एमएएच क्षमताको ब्याट्री पाउनु राम्रो कुरा हो । फोनलाई चार्ज गर्न १८ वाटको फास्ट चार्जिङ उपलब्ध गराइएको छ । फोनलाई फुल चार्ज गरेपछि सामान्य प्रयोग गर्दा २ देखि ३ दिनसम्मलाई पुग्न सक्छ । तर चार्ज गर्नका लागि चाहिँ डेढ घण्टा जति लाग्छ ।
अर्को रोचक कुरा भनेको बेन्कोले प्रदान गर्ने बक्स कन्टेन्ट । बेन्कोले यो पोनमा चार्जर, इयरफोन, प्लास्टिक कभरसँगै स्क्रिन प्रोटेक्टर समेत उपलब्ध गराएको छ ।