काठमाडौं । अब अलिपे प्लसका प्रयोगकर्ताले नेपालमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । यसका लागि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ ।
अलिपे प्लस चीन, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, इन्डोनेसिया लगायतका देशका ई-वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी सेवा प्रदान गर्ने प्रणाली हो । सम्झौतापछि अलिपेका १.६ अर्बभन्दा बढी प्रयोगकर्ताले नेपालमा स्मार्ट क्यूआरसँग आबद्ध व्यवसायहरूलाई सहज रूपमा भुक्तानी गर्न सक्ने बताइएको छ ।
स्मार्ट क्यूआर नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी भएको पहिलो इन्टरअपरेबल क्यूआर कोड हो ।