close

अमेरिकाको एप स्टोरमा फर्कियो टिकटक

टेकपाना टेकपाना

फागुन २, २०८१ १८:२९

अमेरिकाको एप स्टोरमा फर्कियो टिकटक

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक करिब एक महिनाको अन्तरालपछि अमेरिकाको गुगल प्लेस्टोर र एप्पल एपस्टोरमा पुन: उपलब्ध भएको छ । यसअघि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेपछि यी दुवै एप स्टोरबाट हटाइएको थियो ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एप्पललाई पत्र लेख्दै एप होस्ट गरेबापत कुनै जरिवाना नलगाइने आश्वासन दिएपछि टिकटक पुन: फर्किएको ब्लुमबर्गले उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई टिकटकको अमेरिकी स्वामित्वको सम्भावित बिक्रीका लागि हुने वार्ताहरूको निरीक्षण गर्न जिम्मेवारी दिएको समाचारमा उल्लेख छ ।

गत महिना एप्पल र गुगलले टिकटकको अभिभावक कम्पनी बाइटडान्सका एपहरू प्रतिबन्ध गर्ने कानुनअनुसार टिकटकलाई आफ्ना एप स्टोरहरूबाट हटाएका थिए ।

तर, राष्ट्रपति ट्रम्पले जनवरी २० मा कार्यकारी आदेश जारी गर्दै न्याय विभागलाई ७५ दिनसम्म यो प्रतिबन्ध लागू नगर्न निर्देशन दिएका थिए । सो निर्देशनपछि पनि एप्पल र गुगलले अर्बौं डलर जरिवानाको जोखिम रहेको भन्दै एप पुन: होस्ट गर्न अस्वीकार गरेका थिए ।

एप स्टोरमा टिकटक नराखेपछि आफ्ना प्रयोगकर्तालाई डाउनलोड र अपडेट गर्नका लागि गत शनिबारदेखि वेबसाइटबाट नै एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको थियो । हाल पुन: होस्ट गरेको विषयमा एप्पल र गुगलले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८१ १८:२९