close

१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

टेकपाना टेकपाना

फागुन ४, २०८१ १३:१८

१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना एक समर्थकको भनाइ राख्दै डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क अस्वाभाविक भएको आशय राखेका थिए । 

उनले लेखेका थिए, “हिजोआज फेसबुकको इनक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु ।”

त्यस्तै प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले डिजिटल भुक्तानीमा लाग्दै आएको शुल्कको विषयमा चासो व्यक्त गर्दै सुझाव मागेका थिए । झन्डै पाँच महिना अघि सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले १० रुपैयाँ भुक्तानी गर्दा २१ रुपैयाँ काटिनु जायज नभएको उल्लेख गर्दै सार्वजनिक रूपमा सुझाव माग गरेका थिए । 


तर, प्रधानमन्त्री ओलीले छलफल गर्ने भनेको पाँच महिना बितिसक्दा पनि कुनै प्रगति नभएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोख्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुक,इन्स्टाग्राम, एक्स र टिकटकमा प्रधानमन्त्री ओलीले पाँच महिनासम्म पनि केही नगरेको भन्दै आलोचना गर्न थालेका छन् ।

सामाजिक सञ्जाल‍का हरेक जसो पोस्टका कमेन्टमा ‘प्रधानमन्त्रीले डिजिटल भुक्तानी गर्दा लाग्ने ११.३० रुपैयाँ शुल्क हटाउन खोजेको पाँच महिना भइसक्यो तर अझै हटेको छैन । सबैले यसलाई हटाउन दबाब दिनुपर्छ ।”

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “नेपाललाई क्याशलेस इकोनोमी (Cashless Economy) तर्फ लैजान सरकार आफैंले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुपर्छ । शुल्ककै कारण धेरैले डिजिटल भुक्तानी गर्न हिचकिचाउने भएकाले, यसलाई तुरुन्तै हटाउन दबाब आवश्यक छ ।”

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंले फेसबुकमा डिजिटल ट्रान्सफरमा अतिरिक्त चार्ज हटाउने वाचा गर्नुभएको थियो, तर ६ महिना बितिसक्दा पनि यो वाचा केवल खोक्रो आश्वासनमा सीमित भएको देखिन्छ । साना कारोबार गर्ने नागरिकहरू अझै पनि अतिरिक्त चार्जको मारमा परिरहेका छन् र तपाईंको सरकार भाषण र आलोचनामा मात्र सीमित छ ।”

उनले अगाडि लेखेका छन्, “तपाईंले विपक्षको आलोचना गर्दै समय बिताउनुहुन्छ । तर जनताको वास्तविक समस्याको समाधानमा तपाईंको नेतृत्व असफल देखिएको छ । जनताले भाषण होइन व्यवहारिक परिवर्तन चाहन्छन् । तपाईंको फेसबुक पोस्ट केवल झुटो आशा बाँड्नको लागि होइन – तपाईंले जनतासँग गरेको वाचा पूरा गर्नको लागि हो ।”

आफूले फेसबुकमा बोलेको कुरा चाँडोभन्दा चाँडो व्यवहारमा लागू गर्न प्रयोगकर्ताले कमेन्ट गर्दै दबाब दिएका छन् । 

अहिले पनि एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ सेवा शुल्क लाग्छ भने त्यसैमा १३ प्रतिशत कर जोडिन्छ । यसले गर्दा स-साना कारोबार गर्ने सेवाग्राही मारमा परेको गुनासो आउने गरेका छन् । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८१ १३:४३