काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस२५ सिरिजको बिक्री सुरु गरेको छ । कम्पनीले आइतबारदेखि देशभर एस२५ सिरिज औपचारिक रूपमा बिक्री गर्न थालेको हो ।
कम्पनीले यस सिरिजको प्रि-अर्डरमा नयाँ रेकर्ड कायम गरेको दाबी गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटक ६० प्रतिशत बढी प्रि-अर्डर भएको कम्पनीले जनाएको छ ।
नेपालमा ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध भएको छ । ग्यालेक्सी एस२५ प्लस नेभी, सिल्भर श्याडो र ग्यालेक्सी एस२५ आइसी ब्लु र सिल्भर श्याडो रङ्गमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ अल्ट्रा (१२ जीबी/५१२ जीबी) को मूल्य रु १९९,९९९ र (१२ जीबी/२५६ जीबी) को मूल्य रु १८४,९९९ रहेको छ। त्यसैगरी ग्यालेक्सी एस२५ प्लस (१२ जीबी/५१२ जीबी) को मूल्य रु १४१,९९९ र ग्यालेक्सी एस२५ (१२ जीबी/५१२ जीबी) को मूल्य रु ११४,९९९ तथा (१२ जीबी/१२८ जीबी) को मूल्य रु १०४,९९९ रहेको छ ।
सामसङले इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूलाई सजिलै ईएमआई विकल्पहरूसहित उपकरणहरू प्राप्त गर्न सक्ने सुविधा दिएको छ । साथै, पुराना फोन एक्सचेन्ज गर्ने सुविधा पनि उपलब्ध छ ।
कस्तो छ एस २५ सिरिज ?
एस २५ सिरिजका फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन थ्री चिपसेट प्रयोग गरिएको छ, जसले फोनको कार्यक्षमतामा सुधार ल्याउने दाबी गरिएको छ । सबै मोडेलमा १२ जीबी र्याम स्ट्यान्डर्ड राखिएको छ । ग्यालेक्सी एस २५ मा ६.२ इन्च र ग्यालेक्सी एस २५ प्लसमा ६.७ इन्चको डिस्प्ले छ, जसमा २६०० निट्स ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट दिइएको छ ।
फोटोग्राफीका लागि ग्यालेक्सी एस २५ सिरिजमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, अल्ट्रावाइड क्यामेरा र थ्रीएक्स टेलिफोटो क्यामेरासहित १२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । वायरलेस चार्जिङका लागि ‘क्यूआई टु रेडी’ प्रविधि समावेश गरिएको छ, जसले क्यूआई२ चार्जरबाट १५ वाटसम्म चार्ज गर्न सक्ने बताइएको छ ।
सामसङले यी फोनमा सात पुस्तासम्म एन्ड्रोइड अपडेट र सात वर्षसम्म सुरक्षा अपडेट दिने घोषणा गरेको छ । ग्यालेक्सी एआई फिचरले भरिएको यी फोनमा गुगलको सर्कल टु सर्च र फोटो एडिटिङ टुल पनि समावेश छन् । एआई मोडेल सुधारसँगै स्न्यापड्रागन ८ जेन थ्री चिपसेटको कारण यी फिचरहरू अझ प्रभावकारी हुने दाबी गरिएको छ ।
फोटो एडिटिङका लागि जेनेरेटिभ फोटो टुल समावेश गरिएको छ, जसले अनावश्यक मान्छे वा वस्तुहरू हटाउन मद्दत गर्छ । साथै, भिडिओमा भएका अनावश्यक आवाज हटाउन वा कम गर्न अडिओ इरेजर टुल राखिएको छ, जसले हावा, भिड, संगीतजस्ता आवाजलाई कम गर्न सक्छ ।
सामसङ एज प्यानलमा ‘एआई सेलेक्ट’ टुल राखिएको छ, जसले स्क्रिनसटलाई क्रप, शेयर गर्न तथा भिडिओबाट गिफ बनाउन मद्दत गर्छ । ‘नाउ बार’ फिचरले खेलकुदको स्कोर तथा गुगल म्यापको नेभिगेसनजस्ता जानकारी प्रदान गर्ने बताइएको छ ।
फोनको एआई असिस्टेन्ट गुगल जेमिनाईमा आधारित छ, जसले प्राकृतिक भाषा प्रयोग गरेर आदेश बुझ्न सक्छ । यसले विभिन्न एप्समा एकैसाथ काम गर्ने सुविधा प्रदान गर्ने बताइएको छ ।