काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई असिस्टेन्टमा रहेको ओपनएआईको रिजनिङ मोडेल ओ१ (o1) र भ्वाइस फिचर निःशुल्क अनलिमिटेड रूपमा प्रयोग गर्न दिन थालेको छ । कम्पनीले गत महिना मात्रै सबै कोपाइलट प्रयोगकर्ताहरूका लागि ओपेनएआईको रिजनिङ मोडेल नि:शुल्क बनाएको थियो ।
अब कम्पनीले यो मोडेल र कोपाइलटको भ्वाइस फिचर सबैलाई अनलिमिटेड प्रयोग गर्न दिन थालेको हो । यसअघि, कोपाइलटमा रहेको थिङ्क डिपर (ओ१ द्वारा सञ्चालित) र भ्वाइस दुवैको प्रयोगमा नि:शुल्क प्रयोगकर्ताहरूका लागि सीमा लगाइएको थियो । तर माइक्रोसफ्टले मङ्गलारदेखि उक्त सीमा हटाउँदै कोपाइलट प्रयोगकर्ताहरूले कम्पनीको एआई असिस्टेन्टसँग ढुक्कले कुराकानी गर्न सकिने बनाएको हो ।
"हामी एड्भान्स (विकसित) सुविधाहरूमा धेरैभन्दा धेरै मानिसहरूलाई अनलिमिटेड पहुँच उपलब्ध गराउन कडा मेहनत गरिरहेका छौँ, आज भ्वाइस र थिंक डिपरबाट सुरु गर्दैछौं," कोपाइलट टिमले भनेको छ । "माग उच्च भएको बेला वा यदि हामीले सुरक्षा सम्बन्धी समस्या, दुरुपयोग वा कोपाइलटका सर्तहरू उल्लङ्घन भएको पाएमा तपाईँले ढिलाइ वा बाधाहरू अनुभव गर्न सक्नु हुनेछ र यसको कुनै अर्थ हुने छैन ।"
कोपाइलट भ्वाइस र थिङ्क डिपर अनलिमिटेड प्रयोग गर्न सकिने सुविधा माइक्रोसफ्टले पहिलो पटक आफ्नो बिङ (Bing) सर्च इन्जिनमा कोपाइलट सुरु गरेको दुई वर्षपछि र कोपाइलट प्रो सब्सक्रिप्सनलाई नयाँ रूप दिएर माइक्रोसफ्ट ३६५ मा अफिस एआई फिचर बन्डल गरेको एक महिनापछि आएको हो।
माइक्रोसफ्टले आफ्नो प्रति महिना २० अमेरिकी डलर मूल्य पर्ने कोपाइलट प्रो सब्सक्रिप्सनको बिक्री पनि जारी राख्नेछ । यो सुविधा खरिद गर्ने प्रयोगकर्ताले अत्यधिक माग भएको समयमा कम्पनीका पछिल्ला मोडेलहरूमा प्राथमिकता पाउनेछन् । यति मात्र नभएर परीक्षणका क्रममा रहेका एआई फिचरमा सुरुवाति चरणमै पहुँच पाउनुका साथै उनीहरूका लागि वर्ड, एक्सेल र पावरपोइन्ट जस्ता माइक्रोसफ्ट ३६५ एपहरूमा कोपाइलटको अतिरिक्त प्रयोगको सुविधा पनि कायम रहनेछ ।