close

ह्याकरहरूको विश्वकपमा नेपाल क्वाटरफाइनलबाट बाहिरियो

टेकपाना टेकपाना

फागुन २०, २०८१ १२:४७

ह्याकरहरूको विश्वकपमा नेपाल क्वाटरफाइनलबाट बाहिरियो

काठमाडौं । विश्वकै प्रतिष्ठित ह्याकिङ प्रतियोगिता ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ मा नेपाली टिम क्वाटरफाइनलबाट बाहिरिएको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ह्याकरवनले नेपाल प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो ।

यसअघि, नेपाली टिमले बेलायतलाई पराजित गर्दै शीर्ष १६ अर्थात् क्वाटरफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अब सेमिफाइनलमा नेदरल्यान्ड्स र स्पेन तथा ग्रीस र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टिमहरू फाइनल चरणमा आमनेसामने हुनेछन् ।

टेकपानासँग कुरा गर्दै टिम नेपाली टिमका लिडर आनन्द ढकालले भिसा समस्याका कारण सबै खेलाडी प्रतियोगितामा सहभागी हुन नसकेको बताए । क्वाटरफाइनलको खेल चेक रिपब्लिकको प्रागमा भएको थियो । “हाम्रो सबै खर्च ह्याकरवनले नै बेहोर्ने गरी क्वाटरफाइनल खेल्न निमन्त्रणा दिएको थियो,” ढकालले टेकपानासँग भने, “तर भिसा समस्याका कारण आठ सदस्यीय टोलीबाट म मात्रै सहभागी हुन सकेँ ।” ​

 

“पहिले अर्जेन्टिनामा भएको प्रतियोगितामा पनि भिसाकै कारणले समस्या भयो । अहिले पनि त्यस्तै भयो,” उनले अगाडि भने, “सहभागी त्यतिका टिममध्ये अपूरो टिम नेपालको मात्र थियो । जे भए पनि राम्रै अनुभव भयो । विश्वका चर्चित ह्याकरसँग नेपाली टिमका सबै ह्याकरको नेटवर्किङ हुन पाएन, टिम निराश भयो । अलि खल्लो भयो । तर, यो हाम्रा लागि चुनौतीपूर्ण पनि थियो । हरेक वर्ष प्रतिस्पर्धी थप बलियो हुँदै आएका छन् । हामी पनि आफूलाई आफ्नो तर्फबाट आफ्नो क्षमता बढाइरहेका छौँ ।”

नेपालले २८ जनवरीदेखि ७ फेब्रुअरीसम्म चलेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ४० देशको प्रतिस्पर्धाबीच शीर्ष ८ मा स्थान बनाएको थियो । ढकाल ५ देखि ८ फेब्रुअरीसम्म प्रागमा थिए । नेपालले भर्चुअल रूपमा सम्पन्न ग्रुप स्टेज र क्वालिफायर राउन्डमा प्रदर्शन गरेको थियो ।

ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिमले विभिन्न सिस्टममा रहेका कमजोरी (बग) पत्ता लगाउने प्रतिस्पर्धा गर्छन् । जुन टिमले तोकिएको समयसीमाभित्र बढी कमजोरी पहिचान गर्छ, त्यसकै अंक बढी रहन्छ । अन्ततः सर्वाधिक अंक प्राप्त गर्ने टिम विजेता घोषित हुन्छ ।

नेपालको टिममा रहेका ह्याकरहरू:

आनन्द ढकाल, आकाश हमाल, सन्दीप ओली, कुशल ढकाल, प्रशान्त भट्टराई, वैभव आनन्द झा, खगेश्वर जोशी, अविरल श्रेष्ठ, आयुष श्रेष्ठ, विवेक उप्रेती, विवेक ढकाल, रिकेश बानियाँ, विशाल श्रेष्ठ, मिलन कटुवाल, प्रणव प्रणय, विश्वदीप तामाङ, R3dpars3c, 20_root, मधुसूदन आचार्य र प्रसिद्ध भुसाल ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १३:३८